वाणिज्य बैंकहरूको नाफा ५.४० प्रतिशतले बढ्यो, नबिल बैंक सबैभन्दा अगाडि

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो गत वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो। गत वर्ष माघ मसान्तसम्म बैंकहरूले कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए।
नबिल बैंकको बर्चश्व कायमै
तथ्याङ्कअनुसार खुद नाफा आर्जनमा नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। नबिल बैंकले समीक्षा अवधिमा ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३४.२१ प्रतिशतले बढी हो। त्यसैगरी, ग्लोबल आइएमई बैंक ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। नाफाको वृद्धिदरका हिसाबले कुमारी बैंकले सबैभन्दा ठूलो छलाङ मारेको छ। गत वर्ष ७३ करोड ८६ लाख रुपैयाँ मात्र नाफा कमाएको कुमारी बैंकले यस वर्ष ३२९.८६ प्रतिशतले नाफा बढाएर ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ पुर्‍याएको छ। नाफा वृद्धिमा कुमारीपछि सिद्धार्थ बैंकको पनि राम्रो सुधार देखिएको छ। जसको नाफा ९९.५७ प्रतिशतले बढेको छ। कुल नाफामा सुधार देखिए पनि केही ठूला बैंकहरूको नाफामा भने गिरावट आएको छ। सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको नाफा ८४.७३ प्रतिशतले घटेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा ३६.१८ प्रतिशत, सिटिजन्स बैंकको नाफामा ३६.०९ प्रतिशत र प्रभु बैंकको नाफामा २५.६६ प्रतिशतको गिरावट आएको छ। सरकारी स्वामित्वको नेपाल बैंकको नाफा पनि २४।४० प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *