विकास बैंकहरूको नाफा १७.५२ प्रतिशतले बढ्यो, मुक्तिनाथ पहिलो स्थानमा

काठमाडौँ । नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क अनुसार, यी बैंकहरूको कुल नाफा गत वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको हो। तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको माघसम्म कुल ३ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छन। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म यी बैंकहरुले ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा कायम छ। यस बैंकले माघ २०८२ सम्म ८२१.५२ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५० प्रतिशतको वृद्धि हो। दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ७७९.४४ नाफा कमाएको छ। जसको वृद्धिदर १४.०८ प्रतिशत रहेको छ। प्रतिशतका आधारमा सबैभन्दा उच्च वृद्धि साङ्ग्रिला विकास बैंकले हासिल गरेको छ। यस बैंकको नाफामा ३६.४२ प्रतिशतको बढोत्तरी भई ३५७.६३ पुगेको छ । त्यस्तै, ज्योति विकास बैंकले २६.३९ प्रतिशत र शाइन रेसुङ्गा विकास बैंकले १६.०३ प्रतिशतले आफ्नो नाफा बढाएका छन्। अधिकांश बैंकको नाफा बढ्दा महालक्ष्मी विकास बैंकको नाफामा भने गिरावट देखिएको छ। यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १५.४७ प्रतिशतले घटेर २८३.४७ मा खुम्चिएको छ । अन्य बैंकहरू मध्ये कामना सेवा विकास बैंकले १४.८० प्रतिशत र लुम्बिनी विकास बैंकले १४.७९ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *