मुख्यमन्त्री बानियाँद्वारा जिप्रका काठमाडौँको सेवा प्रवाहबारे अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर सेवा प्रवाहको अवस्था, सेवाग्राहीको सहज पहुँच तथा नागरिकता शाखासहित विभिन्न सेवा कक्षको कार्यसम्पादनबारे उच्चस्तरीय अनुगमन गरेका छन्। मुख्यमन्त्री बानियाँले अनुगमनका क्रममा सेवाग्राही प्रतीक्षा तथा सहायता कक्ष, नागरिकता शाखा र कार्यालयभित्रको समग्र सेवा व्यवस्थापनको निरीक्षण गर्दै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्। अनुगमनका क्रममा मुख्यमन्त्री बानियाँले कार्यालयमा पुगेका सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गर्दै सेवा लिन आउँदा भोग्नुपरेका समस्या, प्रतीक्षाको अवस्था, प्रक्रिया तथा कर्मचारीको व्यवहारबारे जानकारी लिएका थिए। विशेषगरी दैनिक ठूलो संख्यामा सेवाग्राहीको चाप हुने नागरिकता शाखा, सहायता कक्ष र प्रतीक्षालय व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र सेवामैत्री बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। मुख्यमन्त्री बानियाँले कार्यालय परिसरमा जडान गरिएका सीसीटीभी निगरानी प्रणाली तथा विभिन्न सेवा कक्षहरूको प्रत्यक्ष अवस्थासमेत अवलोकन गरेका थिए। कार्यालयका विभिन्न बिन्दुमा राखिएका डिजिटल निगरानी प्रणालीमार्फत सेवा प्रवाहको वास्तविक अवस्था, सेवाग्राहीको भीड व्यवस्थापन, लाइन प्रणाली तथा कर्मचारीको उपस्थितिको निगरानीलाई थप प्रभावकारी बनाउनेतर्फ पनि उनले चासो दिएका थिए। अनुगमनका क्रममा मुख्यमन्त्री बानियाँले सरकारी सेवा प्रवाह नागरिकमैत्री, पारदर्शी र झन्झटरहित हुनुपर्नेमा जोड दिँदै सेवाग्राहीले सरकारी कार्यालयमा आउँदा दुःख, सास्ती र अनावश्यक ढिलासुस्ती भोग्न नपर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। उनले सेवा प्रवाहमा हुने ढिलाइ, अनावश्यक कागजी झन्झट, अस्पष्ट प्रक्रिया तथा बिचौलियाको सम्भावनालाई कडाइका साथ नियन्त्रण गर्न सम्बन्धित निकायलाई सचेत गराएका छन्। सेवाग्राहीहरूसँगको संवादमा कतिपयले कार्यालयको सहायता कक्ष र प्रतीक्षालय व्यवस्थापन सकारात्मक रहेको बताएका थिए भने केहीले सेवा प्रक्रियामा थप सरलता, समयमै काम सम्पन्न हुने व्यवस्था र स्पष्ट सूचना प्रणाली आवश्यक रहेको धारणा राखेका थिए।

मुख्यमन्त्री बानियाँले यस्ता सुझावलाई गम्भीर रूपमा लिँदै सूचना बोर्ड, टोकनरलाइन व्यवस्थापन, नागरिकता सेवा प्रक्रियाको स्पष्ट जानकारी तथा सहायता डेस्कको प्रभावकारिता बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। अनुगमनपछि मुख्यमन्त्री बानियाँले कार्यालयका जिम्मेवार अधिकारीहरूसँग छुट्टै छलफल गर्दै सेवा सुधार, छिटो निर्णय प्रक्रिया, डिजिटल प्रणालीको प्रभावकारी प्रयोग, गुनासो सुनुवाइ संयन्त्रको सक्रियता तथा सेवाग्राहीलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न विशेष जोड दिएका छन्। उनले सरकारी कार्यालयप्रति नागरिकको विश्वास बढाउने सबैभन्दा प्रभावकारी उपाय व्यवहारिक सुधार र उत्तरदायी सेवा प्रणाली भएको बताएका छन्। अत्यधिक सेवाग्राही चाप हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुख्यमन्त्री बानियाँको प्रत्यक्ष अनुगमनले सेवा प्रवाह सुधारप्रति प्रदेश नेतृत्वको गम्भीर चासो देखाएको छ। सरकारी सेवा लिने क्रममा नागरिकले भोग्ने सास्ती कम गर्दै सहज, पारदर्शी र उत्तरदायी प्रशासन निर्माणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने सन्देशसमेत यसले दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *