मुख्यमन्त्री बानियाँको जनमुखी निर्णय, सर्वसाधारणका लागि चापागाउँ अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको जनस्वास्थ्यप्रतिको प्रतिबद्धता फेरि एकपटक व्यवहारमै देखिएको छ। उनकै विशेष पहलमा सञ्चालनमा आएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत बज्रबाराही चापागाउँ अस्पताल, ललितपुरमा अब बागमती प्रदेशभित्रका ३० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने भएको छ। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार, यो सेवा हरेक मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। प्रदेश सरकारको नेतृत्वमा सुरु गरिएको यो कार्यक्रमले विशेषगरी नसर्ने रोगको समयमै पहिचान, परामर्श तथा उपचारको प्रारम्भिक पहुँच सुनिश्चित गर्ने विश्वास गरिएको छ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार जनताको घरदैलोमै प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको सन्देश दिँदै आएको सन्दर्भमा, चापागाउँ अस्पतालमार्फत सुरु भएको यो सेवा त्यसैको व्यवहारिक उदाहरणका रूपमा हेरिएको छ। कार्यक्रमअन्तर्गत प्रशिक्षित चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास लिने, सम्पूर्ण शारीरिक परीक्षण, रक्तचाप जाँच, तौल–उचाइ तथा पेटको मोटाइ मापन, पिसाब परीक्षण, दिसामा सूक्ष्म रगतको जाँच, रगत परीक्षण (CBC) , रगतमा चिनीको जाँच (FBS, OGTT-75 gm), मिर्गौला, कलेजो र लिपिड प्रोफाइल परीक्षण, छातीको एक्स–रे, भिडियो एक्स–रे (U.S.G.), ई.सि.जी., VIA तथा स्तन जाँचसहित परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, स्वास्थ्य परीक्षणका लागि अग्रिम नाम दर्ता आवश्यक हुनेछ। साथै, सेवाग्राहीले खाली पेटमा आउनुपर्ने र बागमती प्रदेशभित्र बसोबास गरेको खुल्ने कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, बसाइँसराइ वा विवाह दर्ता) को प्रतिलिपि अनिवार्य ल्याउनुपर्नेछ।

हरेक दिन १५ जनाको मात्र परीक्षण गरिने अस्पतालले स्पष्ट पारेको छ। यस्तै, उच्च रक्तचाप, मुटु रोग, मधुमेह, दम, मिर्गौला रोग तथा क्यान्सरजस्ता नसर्ने रोग पहिल्यै पहिचान भई नियमित औषधि सेवन गरिरहेका बिरामीहरूलाई भने यो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण नहुने पनि सूचनामा उल्लेख गरिएको छ। जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर अघि बढिरहेको बागमती प्रदेश सरकारको यो पहलले ‘स्वास्थ्य सेवा पहुँचभित्रै हुनुपर्छ’ भन्ने मुख्यमन्त्री बानियाँको दृष्टिकोणलाई अझ बलियो बनाएको छ। ग्रामीण तथा शहरी दुवै क्षेत्रका नागरिकलाई समयमै जाँच, परामर्श र रोग पहिचानको अवसर उपलब्ध गराउने यो कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा हेरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *