निजी क्षेत्रमैत्री वातावरण बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीसित मन्त्रालयमा भेटघाट तथा छलफलका क्रममा उनले यस्तो बताएका हुन् । त्यसक्रममा उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाइने उल्लेख गरे । तर, उदारताको नाममा छाडा हुन नदिइने उनले प्रस्ट पारे । उनले नेपालको निजी क्षेत्र उत्साही भएपछि नै विदेशी लगानी भित्र्ने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमूलक उद्योगलाई सरकारले फरक रूपमा हेर्ने बताए । “लाइन बस्न नपरोस्, घुस दिन नपरोस् भन्नेतर्फ सरकारको विशेष ध्यान हुन्छ । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्नुपर्छ,” अर्थमन्त्री डा. वाग्लेले भने । उनले बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसंघलाई आग्रह समेत गरे । छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे पाण्डेले आमनेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिए । उनले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पुरानो ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गरे । अबको बजेटबाटै स्पष्ट रूपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने उनले विश्वास व्यक्त गरे । रोजगारी सिर्जना, उच्च अंकको आर्थिक वृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्छ,” उनले भने, पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको छ । हाल नेपालको अर्थतन्त्र वार्षिक करिब ४५ अर्ब अमेरिकी डलरको छ । परिसंघले अर्थतन्त्रलाई १० वर्षभित्र कसरी १०० अर्ब डलरको बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको र छिट्टै रिपोर्ट सरकारलाई उपलब्ध गराउने अध्यक्ष पाण्डेले जानकारी दिए । त्यसक्रममा अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका निम्ति अप्ठ्यारो पारेका ऐनका प्रावधान तथा गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गरे ।
















