सत्ताका लागि किन हुन्छ हिंसा ? सुशील कोइराला मृत्यु प्रकरणको जवाफ खोज्ने कि ?
काठमाडौँ । नेपालको राजनीतिमा षड्यन्त्र, जालझेल, हत्या, सैनिक कु सबै भन्दा प्रभावकारी उपायको रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो पटक नयाँको आवरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेपछि यो पुरानो परम्पराले कस्तो असर गर्छ भन्ने जिज्ञासा जागेको छ । रवि लामिछाने र बालेन्द्र साहबिच सत्ता राजनीतिको होडबाजीमा कुनै अनहोनी होला कि, अप्रत्याशित घटना घट्छ कि भन्ने आशङ्का पनि बढ्दै गइरहेको छ । मदन भण्डारीको दासढुँगा फगत दुर्घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने एमालेमाथि अहिले आएर सरकारले अध्यक्ष केपी ओलीलाई गिरफ्तारगरेपछि गंभिर षडयन्त्र देख्ने एमालेले अप्राकृतिक उपाय गरेर राजनीतिमा स्थापित हुन खोज्नु कति घातक हुँदो रहेछ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ । नेपाली काँग्रेसको एउटा खेमाले आफ्नो राजनीतिक स्वार्थको बलिबेदिमा चढाइएको भनेर व्यापक जनताले बारम्बार प्रश्न उठाइएको पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यु प्रकरण बारे कतैबाट सुनुवाइ भएन । पूर्व प्रधानमन्त्री सुशीला कोइरालाको हत्या भएको हो कि स्वाभाविक मृत्यु हो भनेर जान्न पाउने नेपाली जनताको हकको कदर भएन, आजका दिनसम्म पनि । कोइरालाको मृत्यु अस्वाभाविक छ, यो हत्या हो भन्ने आवाजलाई त्यस बेलाको सरकारले सुनुवाइ नै गरेन । त्यसले आजसम्म पनि सरकार भनेको सत्ताको रजाइँ गर्नेहरूको झुन्ड मात्र हो, त्यो न त जनताप्रति जबाफदेही रहन्छ न जनताको जीउधनको रक्षाको लागि काम गर्छ भन्ने धारणा जनतामा बसेको छ । सुशील कोइराला नेपालका पूर्व प्रधानमन्त्री मात्र थिएनन् संविधानसभा मार्फत संविधान जारी गराउने देशको ऐतिहासिक व्यक्तित्व पनि थिए । उनको मृत्युको घटना शङ्कास्पद छ भन्ने आवाज उठेपछि त्यसलाई बेवास्ता गरेर शुभचिन्तकहरूलाई निराश गराउनु हुँदैनथ्यो । सुरुमा एकमतले दुर्घटना भन्ने एमाले केन्द्रीय कमिटीले महासचिव मदन भण्डारीको दुर्घटनालाई राजनीतिकरण गरेर लाभ लिन खोजे जस्तो पनि थिएन कोइराला मृत्यु प्रकरण ।
यदि त्यो मृत्यु स्वाभाविक थियो भने पनि पोस्टमार्टम गरेर त्यसको रिपोर्ट सार्वजनिक गरी आएको वास्तविकता जनता, उनका शुभचिन्तकलाई चित्त बुझाउन सकिन्थ्यो । तर त्यो पनि गरिएन । त्यसले यो घटना इतिहासमा बारम्बार प्रश्न उठिरहने मुद्दाको रूपमा जीवित रहने निश्चित छ । हुन त सत्ता भन्ने डरलाग्दो चिज मानिन्छ । नेपालकै सन्दर्भमा पनि काजी भीम मल्लको हत्या देखी यता दरवारिया, भाइ भारदारका बिचमा सैयौं हत्याकाण्ड भएका छन्। तिनको यथोचित निरूपण गर्नतिर कुनै पनि सरकारको ध्यान गएको देखिँदैन । बरु त्यसलाई ढाकछोप गर्नतिर नै शासकहरू लागेको देखिन्छ । गोर्खाली राजा पृथ्वीनारायण शाहले आक्रमण गर्नुअघि काठमाडौँ उपत्यकामा शासन गर्ने मल्ल राजाहरूको इतिहास त षडयन्त्र, जालझेल, अपदस्त गर्ने, हत्या गर्ने र आफू स्थापित हुने घटना चक्रको फेहरिस्त जस्तै थियो । काठमाण्डौका राजा जयप्रकाश मल्ललाई पृथ्वीनारायण शाहले जित्नु अघि भएको भारदारहरूको षडयन्त्रबाट अपदस्त भई लुकेर सैनिक सङ्गठन गरी पुनः सत्ता हत्याएका थिए । पृथ्वीनारायणको एकीकरण अभियानमा पनि त्यस्ता षडयन्त्र कैयौँ पटक भए । कोतपर्व, भण्डारखाल पर्व अघि पनि बस्नेत, पाँडे र थापाबिचको खिचातानीमा कैयौँ होनहार योद्धाको ज्यान गएको छ । भीमसेन थापा, दामोदर पाण्डे, माथवर सिंह थापाको मृत्युको घटनाले त्यस बेलाको राजनीति कन्स्पेरिसी थ्यौरीको उदाहरण थियो भन्ने देखिन्छ । गगनसिंहको रहस्यमय हत्यापछि उदय भएको राणा शासनकालमा त त्यो चरम रूपमा प्रतिबिम्बित भएको देखिन्छ । मल्लकालमा मात्र देखिएको राजाको आँखा फुटाउने, राजाको पदबाट हटाउने र मनलाग्दी जसलाई पायो उसलाई राजा घोषणा गर्ने परम्परा राणाकलामा अर्कै रूपमा पुनरावृत्ति भएको देखिन्छ । जङबहादुरको मृत्यु, उनका सन्तानको कत्लेआम, रणोदीपको हत्या, देव शमशेरलाई कु गरी हटाएको घटना, पद्य शमशेरलाई राजीनामा दिन बाध्य पार्ने कदम, जुद्ध शमशेरलाई ज्योतिषको सहाराले पदत्याग गर्न बाध्य पारिने प्रपञ्च पनि सत्ताका लागी गरिने षडयन्त्र कै रूप भित्र पर्दछ । त्यो परम्परा राजाहरूमा अझ बढी रहेको देखिन्छ । मध्य कालिन समयमा भारत वर्षमा राजा महाराजाहरूलाई षडयन्त्रको शिकार बनाउने, सत्ता हत्याएपछि शक्तिशाली राजाको शरणमा जाने प्रवृत्ति व्याप्त थियो । मुगल शासक, राजपुत्र समेतका शासकले त्यस्तो उपाय अपनाएको इतिहास छ ।
राणा शासन सुरु भएपछि बन्दीको जस्तो जीवन बिताएका राजाको जीवन छोटो हुनु, युवराज त्रैलोक्य विक्रम राजा नभै मारिनु पनि शासकीय षडयन्त्र कै एउटा भाग थियो । बहुदल आएपछि भएको राजा बिरेन्द्रको परिवार सहित राजदरबार हत्याकाण्डमा अन्त्य हुनु पनि सत्ता कब्जासँग जोडिएको घटना नै हो । राजा महेन्द्रको मृत्युका सम्बन्धमा यकिन तथ्याङ्क नभए पनि त्यो राजनीतिक स्वार्थका कारण भएको हत्या थियो । नेपालको सत्ता राजनीतिमा लागू भएको कन्स्पेरिसी थ्यौरी पछिल्लो पटक नेपाली काँग्रेसमा प्रयोग गर्न खोजिएको थियो । तर त्यो भौतिक आक्रमणको स्तरमा भने ओर्लिएन । सत्ता कब्जा गर्ने होडबाजीमा आज पनि काङ्ग्रेसभित्रका दुइटै गुट सक्रिय देखिन्छन् । एमाले भित्र त झन् त्यसको रूप बीभत्स नै देखिन्छ । ओलीको सत्ता कब्जा गर्न आली विरोधी समूह यही चुनावमा पनि सक्रिय देखियो । अहिले भरखरै सत्तासीन भएको रास्वपा भित्र त्यसको गुटगत प्रभाव पनि प्रस्ट देखिन्छ । सत्ताका लागी पार्टी फुटाउने, नेताको चरित्र हत्या गर्ने र अन्त्यमा कब्जा नै गर्ने बाटोमा रास्वपा पनि प्रवृत्त छ । कुलमान प्रकरणमा पनि त्यसको लक्षण प्रस्टै देखिएको हो । अहिले सरकार गठनमा पनि चर्को खिचातानी देखियो । त्यो सत्ताको लागी भएको परोक्ष हिंसा नै हो ।
















