यो शैली अधिनायकवादको सङ्केत

पुराना दलले सुशासन दिन नसकेको आरोप लगाएर सत्ता सिन हुन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो कामको सुरुवात नै संविधान र कानुनको उल्लङ्घनबाट गरेको छ । अनेक सङ्गिन आरोप झेलिरहेको त्यो पार्टी र चुनावमा प्रचण्ड बहुमत हासिल गरेको सरकारको सुरु कै क्रियाकलापले नेपाली जनतालाई निराश गराएको छ । काठमाडौँ महानगरको प्रमुख हुँदा ज्यादतीको पर्याय बनेका बालचन्द्र साह प्रधानमन्त्री भएपछि त झन् विपक्षीप्रति उग्र र असहिष्णु देखिएका छन् । पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गरिएको गैर कानुनी गिरफ्तारीबाट आफ्नो सरकारको यात्रा सुरु गरेका साहले देखाएको बचकना हर्कतले अब मुलुकले भोग्नुपर्ने अनिष्टको सङ्केत देखिएको छ । कथित जेन्जि विद्रोह यताका घटनाले देशको अस्तित्वमाथि नै गम्भीर खतरा रहेको चिन्ता सर्वत्र प्रकट भइरहेकै बेला बालचन्द्र साहले फ्रि तिब्बतका अभियन्ता र शङ्कास्पद एनजिओकर्मी सुदन गुरुङलाई गृहमन्त्री बनाएपछि नै अब देशको बर्बादी सुरु भएको अनुमान लगाउने बौद्धिक जमातलाई यताका केही घटनाले पुष्टि गर्ने आधार दिएको छ । सरकारले अब बिस्तारै नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्ने,आफ्ना कार्यकर्ता मार्फत बुलिङ गर्ने, आतङ्कित गराउने र अन्ततः हिट्लर शैलीमा सबै विपक्षीलाई समाप्त गरी एकछत्र राज गर्ने तानाबाना बुनिरहेको भान हुन्छ । पूर्व प्रधानमन्त्री ओलीको गैर कानुनी गिरफ्तारीको विरुद्ध उठेको आन्दोलनलाई दबाउन बालचन्द्र साह नेतृत्वको सरकारले प्रदर्शनका क्रममा गिरफ्तार भए कालोसूचीमा पर्ने, विदेश जान रोक्ने, राज्यको तर्फबाट दिइने सुविधाबाट वञ्चित गर्ने जस्ता लोकतन्त्र विरोधी निर्णय गरेर जनतालाई त्रसित गराउने जमर्को गरेको छ । यो स्तरको घटिया निर्णय त पञ्चायतले पनि गरेको थिएन । यो त आफ्ना गलत कदमलाई विफल गराउने सम्भावनालाई ढाल बनाउने दुष्कर्म मात्र हो ।
सरकारको आलोचना गरेकै कारण एक जना किशोरीलाई अपहरणशालीमै गिरफ्तार गरियो । ओलीको गैर कानुनी गिरफ्तारी विरुद्ध बोल्ने एक किशोरीलाई प्रधानमन्त्रीका पार्टी कार्यकर्ताले गरेको हिंसालाई प्रोत्साहित गर्ने काम भइरहेको छ । बिना कारण विपक्षी नेता हर्कराज राईलाई हत्या गर्ने, घरमा आगो लगाउने भन्दै पशुवत भाषामा गाली गर्नेलाई छुट दिने तर शालीन शैली र सभ्य भाषामा आलोचना गर्नेको हुर्मत लिने कामले नेपालको लोकतन्त्र अब सङ्कटमा छ भन्ने प्रस्ट सङ्केत गरेको छ । राम्रो काम गर्न कानुन सम्मत उपाय र विधि अपनाएर अघि बढ्न पनि सम्भव छ । कसैलाई आतङ्कित गराउन कानुन हातमा लिनै पर्दैनथ्यो । कामको सुरुवात गर्नेले सहमति विश्वास र आपसी सहयोगको बाटो पनि हिँड्न सकिन्थ्यो तर त्यस विपरीत कानुन भन्दामाथि आफूलाई राखेर, सुरक्षाकर्मीलाई गैर कानुनी दबाब दिएर रातविरात व्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गर्ने शैली अधिनायक तन्त्रमा जायज होला तर लोकतन्त्रमा हुँदैन । रवि लामिछानेलाई कार्यालय समयभन्दा पछि गिरफ्तार गर्दा रोइलो गर्नेहरूले देखाएको यो शैलीलाई संस्कार, चरित्र र सभ्यता नभएका सत्तारुढ दलका हनुमानहरूले सामाजिक सञ्जालमा गरेको स्याल हुइयालाई आधार मानेर जनताले समर्थन गरेका छन् भन्ने निष्कर्ष निकाल्नु भन्दा मूर्खता अरू केही हुँदैन । यो तरिकाले जनताले काम गर्नका लागि दिएको अवसरको दुरुपयोग मात्र हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *