सभामुखका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डौं । सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी सभामुखज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम ९१० को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले बिहीबार कार्यतालिका प्रकाशन गर्दै भनेको थियो। संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। एकभन्दा बढी उम्मेदवारी परे चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ। तर एकभन्दा बढी उम्मेदवारी पर्ने सम्भावना कम छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दल बैठकले अर्याललाई उम्मेदवार बनाउने प्रस्ताव पास गरेको थियो। वर्तमान संसदमा रास्वपाको झण्डै दुई तिहाइ (१८२ जना) सांसद छन्। त्यसैले अर्याल सभामुख चुनिने निश्चित भएको हो। काठमाडौं–९ बाट निर्वाचिनत अर्याल पार्टी सभापति सहकारी ठगी, संगठित अपराधसम्बन्धी अभियोगमा हिरासत र पुर्पक्षका लागि थुनामा रहेका बेला पार्टीको कार्यवाहक सभापति पनि थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *