नयाँ शैक्षिक सत्रअगावै भर्ना गरे कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रअगावै भर्ना गर्ने र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आइतबार (चैत २२) प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न जिल्लाका संस्थागत (निजी) विद्यालयहरूले प्रचलित कानुन र अदालतको आदेशविपरित कार्य गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली, २०५९ को नियम ८४ (४) र ७८ (ग) को व्यवस्था तथा सर्वोच्च अदालतले २०८२ चैत २० गते जारी गरेको आदेशको उल्लंघन गरेको पाइएको भन्दै सजग हुन अनुरोध गरेको छ ।
मन्त्रालयले सबै स्थानीय तहहरूलाई आआफ्नो क्षेत्रभित्रका विद्यालयहरूबाट कानुनविपरीत असुल गरिएको भर्ना शुल्क सम्बन्धित अभिभावकलाई फिर्ता गराउने प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र भर्ना प्रक्रिया सुरु गर्न र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेभन्दा बढी शुल्क नलिन मन्त्रालयले निर्देशन दिएको छ । तोकिएको समयभित्र अवैध रूपमा लिइएको शुल्क फिर्ता नगर्ने विद्यालयहरूलाई शिक्षा ऐन, २०२८ र अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

















