उल्टो यात्राले सरकारलाई कहाँ पुर्याउँछ ?
सन् १९८९ मा सोभियत युनियनमा ‘कू’ भयो । राष्ट्रपति मिखाइल गोर्वाचोव छुटी मनाइरहेको बेला अतिवादी बिचार राख्ने गेन्नाडी यानायम र उनको समूहले गोर्भाचोभलाई अपदस्त गरे । तत्काल मस्कोका मेयर यलत्सिनले मस्कोमा गरेको आन्दोलनबाट गेन्नाडी समूह कब्जामा आयो । गोर्भाचोभ आफ्नो पदमा पुनर्स्थापित भए । त्यसपछि उनले गेन्नडीलाई लक्षित गर्दै भने भेडा गोठालाहरू शासन गर्नका लागी होइनन् । गोर्भाचोभको कथन थियो शासक वर्गमा विशेष गुण हुन्छ । अहिले नेपालमा नयाँको नाममा उदाएको रास्वपा र उसको सरकारले प्रारम्भ गरेको काम र कार्यशैलीले पनि गोर्भाचोभको भनाइलाई पुष्टि गरेको छ । राजनीतिक विश्लेषक मुमाराम खनालले पुरेतका गाईको संज्ञा दिएका रास्वपाका सांसदहरूको चरित्र र व्यवहारको त निर्वाचन अघि नै पर्याप्त चर्चा भएको थियो । अहिले मन्त्री पदमा पुगेका, संसद्मा रहेकाहरूका करतुत एकपछि अर्को गरेर खुल्दै गएका छन् । पार्टी सभापति रवि लामिछानेले एकाएक सँग बदला लिन्छु, कसैलाई छाडिदिन, भनेको कुरा आज व्यवहारमा देखिन थालेको छ । रास्वपा एउटा जिम्मेवार राजनीतिक दलको रूपमा स्थापित हुने, सरकार मुलुक र जनताप्रति उत्तरदायी बन्ने भन्दा आफू सरकारमा आउनु अघिका सरकार र विपक्षी दलमाथि बदला लिन अघि सरेका छन् । पूर्व प्रधानमन्त्री खडप्रसाद ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शपथ खाएकै राती गिरफ्तार गरेर शुरु गरेको बदला लिने काम अहिले निकै अघि बढिसकेको छ । सर्वोच्च अदालतको निर्णयले शुक्रवार छुट्न लागेका ओली, लेखकलाई पुनः गिरफ्तार गर्न मन्त्री परिषद्को आपतकालिन बैठकले निर्णय गरेको कुरा बाहिर आइसकेको छ ।
माओवादी नेता पुष्पकमल दाहाल, उनकी पुत्री गङ्गा दाहाल, पूर्वप्रम शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा समेतका दर्जनौँलाई गिरफ्तार गर्ने योजना बाहिरिएको छ । जे पायो त्यही गर्ने र मनपरी बोल्ने बानी लागेका गृहमन्त्रीले शेरबहादुर दम्पतीलाई २४ घण्टाभित्र इन्टरपोल मार्फत झिकाउने अभिव्यक्ति दिएका छन् । दुई हप्ता भएको छैन सरकार गठन भएको देश डरलाग्दो आतङ्कको शिकार भएको छ । पुराना पत्रकार किशोर नेपालले प्रधानमन्त्रीको एउटा सिम्वोलिक तस्बिर राखेर सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले हाम्रो यथार्थ चित्रण गर्छ । नेपाल लेख्छन् प्रधानमन्त्री शिवजीको आराधनामा हुनुहुन्छ, डिस्टर्व नगर्नुस्, अब मुलुक केही समय यस्तै चल्छ, रसद पानीको व्यवस्था गरिराख्नुस् । कानुन, नियम र संविधानलाई कागजको खोस्टो मात्र सम्झने रास्वपा सरकारको चरित्र, व्यवहार र काम कस्तो छ भन्ने कुरा प्रारम्भिक दश दिनको कामले देखाएको छ । अहिले सरकार विपक्षीलाई दमन गर्ने, आतङ्कित गराउने र प्रतिपक्षरहित सरकार सञ्चालन गर्ने ताकमा छ । पुरानो सरकारको छवि राम्रो नभएको र जनता उसको कार्यशैलीप्रति सन्तुष्ट नभएको फाइदा उठाएर जे मन लाग्यो त्यही गरिरहेको छ । जर्जर अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गर्नु पर्नेमा उद्योगी, व्यापारी र ब्यवसायीहरुलाई आतङ्कित पारिरहेको छ । प्रेसलाई धम्क्याएर सरकारका गलत कार्य जनतासम्म पुग्न नदिन अनेक प्रपञ्च रचिरहेको छ । चुनावको सम्बन्धमा नै अनेक प्रश्न, आशङ्का छन्, यस्तो संशय रहेको बेला सरकार सुझबुझ पूर्ण कदम चालेर, संयमताका साथ अघि बढ्नु पर्नेमा विश्व विजयी अलेकजेन्डर बन्ने प्रयास गरिरहेको छ । रुस युक्रेन युद्धको प्रभावले सुस्ताएको अर्थतन्त्रलाई थप सङ्कटमा धकेल्ने अमेरिका, इजरायल इरान युद्धको असरलाई ध्यानमा राखेर जनतालाई राहत दिनुपर्ने बेलामा सरकार उल्टो बाटो हिँड्न थालेको छ । पुरानो र नयाँको बिचमा अमेद्दय पर्खाल खडा गरेर फाइदा उठाउन चाहने बाहिरी तत्त्वको स्वार्थलाई लाभ मिल्ने गरी सरकार र सत्तारुढ दलले चालेको कदमले नेपालको अस्तित्व नै सङ्कटमा पर्ने खतरा टड्कारो बन्दै गएको छ । नयाँको अनेक नौटङ्कीबाट आफूलाई फाइदा भएको ठान्ने पुराना र स्थापित दलहरू पनि छन् । तिनले सरकारको कदमप्रति यात मौन साँधेका छन् या समर्थन गरेका छन् । अहिले प्रत्यक्ष मार नखेपेका त्यस्ता दलहरू पनि आक्रमणको सूचीभन्दा बाहिर भने छैनन् ।
अङ्क गणितको खेल मात्र होइन सत्ता सञ्चालनमा परिपक्वता, सुझबुझ, संयम र धैर्य भएन भने दुई तिहाइ त के सम्पूर्ण सत्ता एकछत्र भए पनि टिक्दैन भन्ने अनेक उदाहरण छन् । त्यस्ता उदाहरण हामीकहाँ नै पनि छन् । २०४६ सालमा आन्दोलनले सर्वसत्तावादी शक्तिलाई विस्तारित गर्दाको अवस्था त्यस्तै थियो अहिले दृश्य अदृश्य शक्तिको आडमा आफूलाई शक्तिशाली ठान्नेहरूले अजम्मरी बुटी पाएका छैनन् । विधि पद्धति र नियम कानुनभन्दा आफूलाई माथि राख्न थाले भने तिनको यात्रा लामो हुँदैन । विपक्षीले पनि बदला, अत्याचार र कुशासनलाई धेरै समय सहन गर्न सक्दैनन् । त्यस बेला देश फेरि गम्भीर द्वन्द्व र हिंसाको चपेटामा पर्न सक्छ । विदेशी शक्तिको चाहना त नेपाललाई गृहयुद्धमा फसाउने नै रहेको छ । यस्तो सङ्गिन अवस्थामा सरकारले प्रत्येक पाइला फुकेर चाल्नुपर्छ ।
















