पहिलो निशाना स्वतन्त्र प्रेस
नयाँको नारा दिएर उदाएको रास्वपाले सरकार गठन गरेपछि पहिलो निशाना प्रेसलाई बनाएको छ । सोसल मिडियालाई प्रयोग गरेर शक्ति आर्जन गरेको त्यस समूहले सूचनाको शक्तिको भलिभाँती आकलन गरेको छ । त्यसले पनि प्रेसमाथि आक्रमण गरेपछि आफ्नो गैर कानुनी हर्कतलाई निर्विघ्न रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको छ । सामान्यतया प्रेस विपक्षको भूमिकामा रहन्छ । वाचडग भनेर संशोधन गरिने यो शक्तिले सरकारका गलत कामलाई आलोचना गर्छ, समाज समक्ष ल्याउँछ र लोकतान्त्रिक अभ्यासलाई सहज गराउँछ । त्यो कुरा रवि बालेनलाई राम्ररी थाहा छ । रवि लामिछानेले त गृहमन्त्री हुँदा आफ्नो विरोधमा निरन्तर समाचार छापेकोमा प्रतिशोध लिन कान्तिपुर प्रशासन समूहका अध्यक्षलाई गिरफ्तार गरी जनकपुरसम्म लगेर दुःख दिएका थिए । उनको ठगी धन्धाको विरोधमा लेख्ने बोल्ने मिडियालाई बाह्र भाइको ट्याग लगाएर आक्रमण गर्ने कार्य समेत गरे । पत्रकार र मिडिया हाउसको नामै लिएर उनले तिनीहरू विरुद्ध जेहाद छेडेका थिए ।
बालेन काठमाडौँ महानगरको प्रमुख भएपछि आफ्नो आलोचना गर्ने प्रकाशन गृह र पत्रकारप्रति कति असहिष्णु देखिएका थिए भन्ने एकाध घटनालाई हेर्दा नै थाहा हुन्छ । उनको निशानामा अनलाइन खबर समेतका केही मिडिया ग्रुप र केही सञ्चारकर्मी परेका थिए । अनलाइन खबरका पत्रकारलाई उनका कार्यक्रममा प्रवेश नदिने देखी हिमालयन टिभीको क्यामरा फाल्दिनेसम्मका हर्कतले उनको प्रेसप्रतिको दृष्टिकोण प्रस्ट हुन्छ । बालेन्द्र साह, रवि लामिछाने नेपाललाई उत्तर कोरिया मोडलमा लैजान खोज्दै छन् भन्ने कुरा सरकार बनेको एकाध दिनमै सङ्केत दिएका छन् । स्वतन्त्र प्रेसको गलाघोटेपछि आफ्नो शासन अकण्टक रहन्छ भन्ने भ्रमले स्वतन्त्र प्रेसमाथि आक्रमण शुरु गरेको छ, रास्वपा सरकारले । त्यसको लागी सरकारले दिँदै आएको सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराउने पहिलो कदम हो ।
बिस्तारै लोककल्याणकारी विज्ञापनको खारेजी र सरकारको आलोचना गरिने समाचारमाथि नियन्त्रण गर्दै निजी क्षेत्रबाट सञ्चालित पत्रपत्रिका, अनलाइन पोर्टल, टिभी, रेडियोमाथि नियन्त्रण गर्ने उसको योजना रहेको सङ्केत देखिन थालिएको छ । तर एक्काइसौँ शताब्दीमा हिटलरी शासनको झल्को दिने गरी कुनै पनि शासकले एकछत्र राज गर्न सम्भव छैन । सामाजिक सञ्जालमा अभद्र, अमर्यादित र भदा गालीगलौज गराएर, जनतालाई गुहराममा पार्ने गरे जस्तो सहज प्रेसमाथिको आक्रमण हुने छैन । नेपाली प्रेसको सम्बन्ध अन्तर्राष्ट्रिय प्रेस जगतसँग भएको सम्बन्धले गर्दा नेपाली प्रेसमाथि हुने सरकारी दमन र हस्तक्षेप विरुद्ध विश्व प्रेस जगत् पनि खडा हुने निश्चित छ । स्वतन्त्र प्रेसको भूमिकालाई साँघुरयाउदै लगेर मुलुकमा अधिनायकवादी शासन चलाउने बालेन्द्र साहको अभीष्ट भने सहजै पूरा हुने देखिँदैन । त्यसका लागी स्वतन्त्र प्रेसका पक्षधर शक्तिहरू, नेपाल पत्रकार महासङ्घ, साना ठुला लगानीका पत्रपत्रिका सबैले एकजुट भएर सरकारको स्वेच्छाचारी कदमको विरुद्ध खडा हुनु जरुरी छ ।
















