कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा

काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन विरुद्ध दायर भएको रिटको सुनुवाइ हुने भएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिटमा बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ हुन लागेको हो। यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो। प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। विपक्षीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्माविरूद्ध कारण देखाउ आदेश जारी गरी अग्राधिकार प्रदान गरिएको थियो।

‘नेपालको संविधानको धारा २६९ को उपधारा ४ (क) को व्यवस्थाले निर्दिष्ट गरेको मार्ग निर्देशन समेतलाई मध्यनजर गरी विपक्षी आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र दफा ५१ मा भएका कानूनी व्यवस्थाहरूको आलोकमा गरेका निर्णयहरूलाई यस अदालतले आफ्नो असाधारण अधिकारक्षेत्रको प्रयोग मार्फत के कुन हदसम्म हस्तक्षेप गर्न मिल्ने हो ? भन्ने जस्ता जटिल राजनीति सम्बद्ध संवैधानिक प्रश्नहरूको निरुपण प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाई हुँदाका बखत सम्बोधन हुने प्रकृतिको देखिंदा हाल माग बमोजिमको अन्तरिम आदेश जारी गरि रहनु परेन,’ आदेशमा भनिएको थियो। सर्वोच्च अदालतले निर्वाचन आयोग र अन्य विपक्षीलाई किन देउवापक्षले माग गरे अनुसारको आदेश दिन नपर्ने हो भन्ने प्रश्नको जवाफ लिखितरूपमा १५ दिनभित्र दिन आदेश गरेको थियो। सबै विपक्षीले लिखित जबाफ पेस गरिसकेका छन्। निर्वाचन आयोगले गगन थापा सभापति चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा(खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *