दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि सुरु

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन् । नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो । लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुनेछ । लिगको पहिलो दिन महिला र पुरुषतर्फ दुई(दुई गरी कूल चार खेल हुनेछ ।

महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ । यस्तै पुरुषथर्फ हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच मध्यान्न १२ बजे खेल हुनेछ भने त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीचको खेल अपरान्ह ४ बजे सुरु हुने तालिका छ । यसैगरी उद्घाटन समारोह दिउँसो ३ बजे हुने नेपाल भलिबल संघले जनाएको छ । दशौँ संस्करणको पीएम कप एनभीए भलिबल लिगमा सहभागि कूल १४ मध्ये ४ टोलीले मात्र विदेशी खेलाडी आफ्नो टिममा समावेश गरेका छन् । त्यसमा पुरुषतर्फ हेल्प नेपाल, रुकुम पश्चिम भलिबल क्लब र खिल्ली युवा क्लब छन् भने महिलातर्फ बुटवलको एभरेष्ट भलिबल क्लबले विदेशी खेलाडी टिममा राखेको छ । नेपाल भलिबल संघको अनुसार लिगमा तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । त्यही अनुसार मोफसलका क्लबहरुले विदेशी खेलाडी समावेश गर्दै टिम बलियो बनाएका छन् । त्यसमा पनि टिपटपले लामो समयदेखि विदेशी खेलाडीहरु टिममा राख्दै घरेलु भलिबल प्रतियोगितामा सधैँ दाबेदारी दिँदै आएको छ । यस पटक पनि हेल्प नेपालले मुराद जेहान, उस्मान फर्‍याद अली र मुह्मद कासिफ नाभिदलाई अनुबन्ध गरेको छ । यस्तै नवौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विदेशी खेलाडीको साथ उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ८ मा रहेर एनभीएल लिगमा छनोट भएको रुकुम पश्चिम र खिल्जी युवा क्लबले पनि दशौँ एनभीएल लिगमा विदेशी खेलाडी समावेश गरेको छ । रुकुम पश्चिमले फहद राजा, एडनान खान र आफा खानलाई अनुबन्ध गरेको छ भने खिल्जीले भारतीय खेलाडीहरु शुभम चौधरी, रजत चौधरी र सुरज चौधरीलाई अनुबन्ध गरेको छ ।

महिलातर्फ पनि एभरेष्ट क्लबले भारतबाटै केपी अनुश्री, अमिथा किकोथ र अनाघा राधाकृष्ननलाई अनुबन्ध गरेको छ । एभरेष्टले गत संस्करणमा थाइल्यान्डका तीन खेलाडी अनुबन्ध गरेर खेलाएको थियो । महिला र पुरुक्ष दुवैमा तीन विभागीय टोलीले आफ्नै क्लबका खेलाडीहरु समावेश गरेका छन् भने पुरुषतर्फ कोशी प्रदेश र बुढानिलकण्ठ क्लबले पनि विदेशी खेलाडी राखेको छैन । यस्तै महिलातर्फ सुदूरपश्चिमले पनि विदेशि खेलाडी समावेश गरेको छैन । यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । लिगमा महिला र पुरुष दुवैतर्फ विजेतादेखि अन्य पुरस्कार समान राखिएको छ । लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो । यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्नेछन् भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०(३० हजार प्राप्त गर्नेछन् । नवौँ एनभीए लिगमा महिला र पुरुष दुवैतर्फ विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख प्राप्त गरेका थिए भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट सबैले २५ हजार पाएका थिए । नवौँ पीएम कप एनभीए लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *