२४ घण्टामै अधिवेशन आह्वान र स्थगित
काठमाडौं । सरकारले वैशाख ८ गतेको मन्त्रिपरषद्का निर्णय सार्वजनिक गर्दा संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरिएकोबारे केही खुलाएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारको पाँचबुँदे निर्णय सुनाए, जसमा दुवै अधिवेशन आह्वानको निर्णय भएको सुनिएन । समान्यतयाः संसद् अधिवेशन आह्वानका लागि सिफारिस भएको निर्णय सार्वजनिक गर्ने गरिन्छ । त्यसको भोलिपल्टै अर्थात् बुधबार राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद्को अधिवेशन आह्वान भएको सूचना निकाले ।
त्यसको २४ घण्टा बित्न नपाउँदै अधिवेशन स्थगित भएको पत्र निकालेका छन् । बिहीबार मध्याह्न मन्त्रिपरिषद्को बैठक बसेको थियो । सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले सरकारको निर्णय सुनाए । तर, उनले पनि संसद् अधिवेशन अन्त्यका लागि निर्णय भएको जानकारी गराएनन् । सरकारले अधिवेशन आह्वान र स्थगितबारे गरिएको निर्णय गोप्य राखेको छ । यसले के कारण निर्णय गोप्य राखियो भन्ने प्रश्न जन्माएको छ । निर्णय र सिफारिसमा गडबडी रहेको स्रोतहरूले बताएका छन् । सरकारले यसबारे बोलेको छैन ।
















