निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय लोकतन्त्र विरोधी : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सरकारको उक्त निर्णयलाई लोकतन्त्रको मर्ममाथिको प्रहार भन्दै आङ्देम्बेले आलोचना गरे । उनले भने, ‘कहिलेकाहीँ सरकारले नाडी छाम्ने प्रयास गर्छ तर लोकतन्त्रको मर्मप्रति नाडी छाम्ने गलत सोच हो ।’ उनका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई प्रकाशनरप्रसारण गर्न नदिने यस्तो निर्णयले प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको आर्थिक आधार कमजोर पार्ने खतरा हुन्छ । उनले यस विषयलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको र संसदभित्र तथा संसदीय समितिका बैठकहरूमा पनि प्राथमिकताका साथ उठाउने नेपाल पत्रकार महासंघको टोलीलाई बिहीबार बताए ।
सरकारी विज्ञान सरकारी सञ्चारमाध्यमलाई मात्रै उपलब्ध गराउने बालेन सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित छ । आन्दोलनकै कार्यक्रमअन्तर्गत महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतको टोलीले नेता आङ्देम्बेलाई सरकारी विज्ञान सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई मात्रै दिने सरकारको निर्णय खारेजको लागि दबाब दिन ध्यानाकर्षण गराएको थियो । त्यस्तै उनले सरकारले संसद् बैठक बोलाएर स्थगित गर्दै अध्यादेशहरु ल्याएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘संसद् बैठक बोलाएर स्थगित गर्ने नाटकपछि अध्यादेशको बाढी ल्याउने प्रयास भइरहेको छ, जुन राम्रो संकेत होइन ।’ बजेटसम्बन्धी छलफलका लागि साता दिनमै संसद् बैठक बस्नुपर्ने अवस्थामा कुनै आकस्मिक वा दैवीय प्रकोपजस्तो परिस्थिति नभए पनि सरकारले अध्यादेश धमाधम ल्याउने कदम चाल्नु उचित नभएको बताए ।















