प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ
काठमाडौं । काठमाडौंमा आयोजित “स्थानीय उत्पादन तथा मौलिक परिकार प्रवर्द्धन मेला–२०८३” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सरकारका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्पादनलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ ढंगले रूपान्तरण गरिँदै आएको उल्लेख गरे। कार्यक्रममा किसान, उद्यमी, उपभोक्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो भने स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका विषयमा छलफल केन्द्रित रहेको देखिन्थ्यो। कार्यक्रमस्थलमा राखिएको पोस्टरमा “किसान–बजार–प्रविधि–उपभोक्ता एकै ठाउँमा” भन्ने सन्देशसहित स्थानीय उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने लक्ष्य स्पष्ट पारिएको थियो। सहभागीहरूले रैथाने बाली, परिकार र उत्पादनको संरक्षण तथा विस्तारमा राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए। मुख्यमन्त्री बानियाँले विज्ञान र प्रविधिको विकाससँगै प्राचीन सभ्यता र वातावरण संरक्षणलाई बेवास्ता गरिए दीर्घकालमा समस्या उत्पन्न हुन सक्ने चेतावनी दिए। उनले स्थानीय तहहरूले भूमिको वैज्ञानिक वर्गीकरण गरी उत्पादन, आवास र औद्योगिक क्षेत्र छुट्याएर योजनाबद्ध विकास गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकिन्छ, जसले गरिबी न्यूनीकरणमा टेवा पुर्याउनेछ। बागमती प्रदेश सरकारले रैथाने उत्पादन र मौलिक परिकारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम अघि बढाइरहेको उनले जानकारी दिए। उनले अब उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने तयारी भइरहेको बताउँदै विभिन्न स्थानमा रैथाने भान्साघर सञ्चालन गर्नुपर्ने धारणा राखे। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय खानाको स्वादसँगै मौलिक उत्पादनबारे जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे। शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विद्यार्थीहरूले “पढ्दै कमाउँदै” गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले शिक्षा, उत्पादन र प्रविधिबीचको सम्बन्धलाई व्यावहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिए।
















