नेपालमा अवसर नै अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर छैन भन्ने गलत भाष्य बनेको बताएका छन् । नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ । यहाँ केही हुँदैन, केही गर्न सकिँदैन, लगानी पाइँदैन, अवसर मिल्दैन भन्नेमा आफू कहिल्यै सहमत नभएको उनले बताएका छन् । हामीले महासंघमार्फत पनि यस्तो गलत भाष्य चिर्न पहल गरेका छौँ । यसैको पहलस्वरुप १० अर्ब रुपैयाँ पूँजीको एउटा पब्लिक कम्पनी बनाएका छौँ, मेरै अगुवाइमा देशभित्र र देशबाहिर रहेका नेपालीबाट स–सानो लगानी संकलन गरेर बनाइएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीले ठूला पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअपमा लगानी गर्छ ।” यसले काम सुरु गरिसकेको उनले बताए । महासंघमा महिला उद्यमी, युवा तथा स्टार्टअप, साना र मझौला उद्यम व्यवसायलाई सहयोग गर्न क्रमशः युनिटहरू बनाउँदै लगेको उनले जानकारी दिए । अहिले देशभरी नै महिला उद्यमी दिदीबहिनीहरूको संख्या बढिरहेको छ, स्टार्टअपका काममा पनि महासंघले सरकार र स्टार्टअप उद्यमीहरूलाई स्टार्टअप फोरमबाट सहयोग गर्दै आएको छ, अध्यक्ष ढकालले भने, हामीले नै स्टार्टअप नीतिका लागि पहल गरेर नीति ल्याउन पनि सफल भएका छौँ । बाह्य लगानी भित्र्याउन विभिन्न देशका उद्यमी व्यवसायीहरूसँग अन्तरक्रिया र छलफलले तीव्रता पाएको उनले जानकारी दिएका छन् ।

बाह्य लगानीको वातावरण निर्माणमा पनि महासंघले कानुनी र नीतिगत सुधारमा पहल गरिरहेको उनको भनाइ छ । निजी क्षेत्रको अर्को प्राथमिकता रोजगारी रहेको उनले प्रस्ट पारेका छन् । हामीले कसरी धेरैभन्दा धेरै युवालाई स्वदेशमा रोजगारी दिन सकिन्छ र त्यसका लागि कस्तो जनशक्ति आवश्यक छ भन्ने सन्दर्भमा बजार सर्भे गरेर पाठ्यक्रम निर्माण गर्नुपर्छ भनेर पहल गरिरहेका छौँ,” ढकालले भने, “प्राविधिक र सीपमूलक शिक्षाका लागि सरकारसँग सहकार्य गर्छौं भनेर सार्वजनिक रुपमै भनिरहेका छौँ । निजी क्षेत्र रोजगारी सृजनाकर्ता, वस्तु उत्पादक, सेवा प्रवाहक, राजश्व संकलक भएकोले यसको लागि सरकारले आवश्यक व्यवसायिक वातावरण बनाउनुर्नेमा उनको जोड छ । यसबारे अवधारणापत्र नै बनाएर सरकारलाई बुझाएको उनले स्मरण गरे । नयाँ बनेको सरकारले त्यो अवधारणा कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ, ढकालले भने, उक्त अवधारणालाई स्वीकार गर्दै कार्यान्वयन नै गर्ने सरकारको प्रतिवद्धता र निर्णयले निजी क्षेत्रको मनोबल बढाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *