एक न्यायाधीशको टिप्पणीले जन्माएको ‘ककरोच जनता पार्टी’

काठमाडौं । भारतमा एउटा सामान्य ठट्टाले अनपेक्षित मोड लियो । ३० वर्षीय अभिजित दिपकेले पछिल्लो ७२ घण्टामा मुस्किलले मात्र निन्द्रा लिन पाएका छन् । अमेरिकाको बोस्टन विश्वविद्यालयबाट हालै जनसम्पर्क विषयमा स्नातक पूरा गरेका उनले आफूलाई एक व्यापक व्यङ्ग्यात्मक राजनीतिक आन्दोलन ‘ककरोच जनता पार्टी’ (सीजेपी) को नेतृत्व गरिरहेको अवस्थामा पाएका छन् । गत शुक्रबार भारतको सर्वोच्च अदालतमा खुला सुनुवाइका क्रममा मुख्य न्यायाधीश सूर्य कान्तले प्रणालीमाथि “परजीवीहरूले आक्रमण गरिरहेको” टिप्पणी गरेका थिए । ‍ रोजगारी नपाएका तथा विभिन्न पेसामा स्थान नपाएका युवाहरूलाई उनले साङ्लोसँग तुलना गरेका थिए । उनले भनेका थिए, “यहाँ साङ्लाजस्ता युवाहरू छन्, जसले कुनै रोजगारी पाउँदैनन् वा पेसामा कुनै स्थान पाउँदैनन् । तिनीहरूमध्ये केही सञ्चारमाध्यम बन्छन्, केही सामाजिक सञ्जाल, आरटीआई अभियन्ता र अन्य अभियन्ता बन्छन्, अनि सबैमाथि आक्रमण गर्न थाल्छन् ।” कान्तले पछि आफ्नो भनाइ नक्कली डिग्री हासिल गर्ने केही व्यक्तिहरूसँग सम्बन्धित रहेको बताए । आफ्नो अभिव्यक्ति सम्पूर्ण भारतीय युवालाई लक्षित नरहेको उनको भनाइ थियो । उनले युवाहरूलाई “विकसित भारतका स्तम्भ” समेत भनेका थिए ।तर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दु राष्ट्रवादी सरकारको १२ वर्षे शासनपछि बेरोजगारी, महँगी तथा बढ्दो धार्मिक ध्रुवीकरणसँग जुधिरहेका विशेषतः ‘जेन जी’ पुस्ताका इन्टरनेट प्रयोगकर्ताहरूले उक्त टिप्पणीलाई गम्भीर रूपमा लिए । सामाजिक सञ्जालमा आक्रोश बढ्दै जाँदा दिपकेले शनिबार एक्समा लेखे, “यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला ?” त्यसपछि उनले मोदीको भारतीय जनता पार्टी (भाजपा) माथि व्यङ्ग्य गर्दै ‘ककरोच जनता पार्टी’ का लागि वेबसाइट तथा इन्स्टाग्राम र एक्स अकाउन्ट सुरु गरे। अमेरिकाको सिकागोबाट अल जजिरासँग कुरा गर्दै दिपकेले भने, “सत्तामा भएकाहरूले नागरिकलाई साङ्लो र परजीवी ठान्छन् । उनीहरूले बुझ्नुपर्छ कि साङ्लाहरू कुहिएको ठाउँमा जन्मिन्छन् र फैलिन्छन् । आजको भारत त्यस्तै बन्दै गएको छ ।” सीजेपीको इन्स्टाग्राम अकाउन्टले तीन दिनमै १ करोड ११ लाखभन्दा बढी फलोअर्स प्राप्त गरेको छ भने ३ लाख ५० हजारभन्दा बढी मानिसहरूले गुगल फर्ममार्फत पार्टीको सदस्यताका लागि दर्ता गरेका छन् ।

यसको विपरीत, आफूलाई विश्वकै सबैभन्दा ठूलो राजनीतिक पार्टी दाबी गर्ने भाजपाको इन्स्टाग्राममा ८८ लाख फलोअर्स छन् । दर्ता गर्नेहरूमा पश्चिम बङ्गालकी विपक्षी सांसद महुआ मोइत्रा तथा बिहारका पूर्व सांसद कीर्ति आजादजस्ता चर्चित राजनीतिक व्यक्तित्व पनि रहेका छन् । यसै वर्ष संघीय सेवाबाट अवकाश लिएका ६० वर्षीय सरकारी कर्मचारी आशिष जोशी पनि पार्टीमा दर्ता हुने प्रारम्भिक व्यक्तिहरूमध्ये एक थिए । भारत सरकारले असहमति राख्नेहरूमाथि गरेको दमनलाई स्मरण गर्दै उनले अल जजिरासँग भने, “पछिल्लो दशकमा देशमा धेरै डर पैदा गरिएको छ । मानिसहरू बोल्न डराउँछन् । भारत यति धेरै घृणाले भरिएको छ कि ककरोच जनता पार्टी ताजा हावाको झोक्का जस्तै लाग्छ ।” जोशीले युवाहरूलाई “साङ्लो”सँग तुलना गर्नुको अर्को अर्थ पनि रहेको बताए । उनले भने, “साङ्लाहरू लचिला प्राणी हुन् । तिनीहरू बाँचिरहन्छन् । र स्पष्ट रूपमा तिनीहरूले एउटा पार्टी बनाएर तपाईँको प्रणालीमाथि घस्रिन सक्छन् । हालका वर्षहरूमा दक्षिण एसिया ‘जेन जी’ आन्दोलनहरूको केन्द्र बनेको छ । उक्त आन्दोलनले श्रीलंका नेपाल र बङ्गलादेशमा सरकार परिवर्तनसम्म गराएको थियो । भारत पनि आफ्नै प्रकारका सामाजिक र आर्थिक समस्याहरूसँग जुधिरहेको छ । अर्थतन्त्र विस्तार भइरहेको भए पनि बेरोजगारी, उच्च जीवनयापन लागत तथा आम्दानी असमानता ऐतिहासिक स्तरमा पुगेको बताइन्छ । भारतले हरेक वर्ष ८० लाखभन्दा बढी स्नातक उत्पादन गरे पनि उनीहरूमाझ बेरोजगारी दर २९.१ प्रतिशत रहेको छ, जुन कहिल्यै विद्यालय नगएकाहरूको तुलनामा नौ गुणा बढी हो ।भारतको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हिस्सा जेन जी पुस्ताको रहेको र यो विश्वकै सबैभन्दा ठूलो युवा समूह मानिन्छ । त्यसैले मुख्य न्यायाधीश कान्तको टिप्पणीले युवाहरूको “दुखिरहेको घाउमा थप चोट पुर्‍याएको” विश्लेषण गरिएको छ ।न्यायाधीशको टिप्पणी सरकार स्तरमा सञ्चालन गरिने मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएपछि परीक्षा स्थगनको निर्णयपछि सार्वजनिक भएको थियो । उक्त निर्णयविरुद्ध देशभर परीक्षार्थी आन्दोलनमा उत्रिएका थिए । सर्वोच्च अदालतका वरिष्ठ वकिल तथा मानवअधिकार अभियन्ता प्रशान्त भूषणले अल जजिरासँग भने, “मुख्य न्यायाधीशको टिप्पणीले अभियन्ता र युवाप्रति रहेको गहिरो पूर्वाग्रह र घृणालाई देखाउँछ । यो वर्तमान सरकारको मानसिकतासँग मेल खान्छ ।” सीजेपीको सदस्य बन्न बेरोजगार, अल्छी, सधैँ अनलाइन रहने तथा “व्यावसायिक रूपमा आक्रोश पोख्न सक्ने” हुनुपर्ने चारबुँदे मापदण्ड बनाइएको छ । एक्समा पार्टीको नारा छ, “युवाहरूको, युवाहरूद्वारा, युवाहरूका लागि राजनीतिक मोर्चा — धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक र अल्छी ।” इन्स्टाग्राममा पार्टीले आफूलाई “अल्छी, बेरोजगार साङ्लाहरूको सङ्गठन” का रूपमा चिनाउँदै जेन जी युवाहरूलाई सामेल हुन आह्वान गरेको छ । सीजेपीको घोषणापत्र मोदी सरकारविरुद्ध मतदाता हेरफेर, ठूला कर्पोरेट सञ्चारमाध्यम र अवकाशपछि न्यायाधीशहरूलाई सरकारी पद दिने प्रवृत्तिजस्ता विषयमाथिको तीखो व्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ । दिपकेले पार्टी सुरु भएको पहिलो २४ घण्टाभित्रै क्लाउड तथा च्याटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स उपकरण प्रयोग गरेर वेबसाइट, घोषणापत्र र पार्टीको स्वरूप तयार पारेको बताएका छन् । सीजेपीबारे युट्युब स्ट्रिम सञ्चालन गरेका युट्युबर मेघनाद एसले अल जजिरासँग भने, “यो ठट्टाले आफ्नै जीवन पाइसकेको छ ।” उनका अनुसार अहिले धेरै जेन जी प्रयोगकर्ताहरूले यस आन्दोलनलाई कसरी अगाडि बढाउने भनेर सल्लाह मागिरहेका छन् ।मेघनादले भने, “मानिसहरू वैकल्पिक राजनीतिक संरचनाहरू खोजिरहेका छन्, जुन अनिवार्य रूपमा परम्परागत राजनीतिक दल होइनन्, बरु गैर–परम्परागत राजनीतिक प्रयोग हुन् ।” उनले थपे, “ककरोच जनता पार्टी एउटा व्यङ्ग्यात्मक, अस्तित्वमै नरहेको पार्टी हो । तैपनि मानिसहरूलाई यो वास्तविक राजनीतिक विकल्पभन्दा राम्रो लागिरहेको छ । यो भारतीय राजनीतिक दलहरूमाथिको एउटा ठूलो टिप्पणी हो ।” मेघनादले हास्यास्पद लागेकै कारण आफू पार्टीमा दर्ता भएको बताए । तर उनले गहिरो रूपमा आफू पनि त्यही निराशा अनुभव गरिरहेको स्वीकार गरे, जसबाट यो “ठट्टा पार्टी” जन्मिएको हो । हालसम्म पार्टीको सम्पूर्ण काम एक्लै गरिरहेका दिपकेका लागि सुरुमा मजाकका रूपमा सुरु भएको यो अभियान अब केवल ठट्टामा सीमित नरहेको छ । उनले विभिन्न राजनीतिक मुद्दामा सामाजिक सञ्जाल अभियान चलाउन आफ्नो निद्रा समेत त्यागिरहेको बताएका छन् । दिपकेले भने, “भारतमा मानिसहरू लामो समयदेखि मौन छन् । अब यो क्षणलाई समात्ने र यसलाई केवल हाँसेर उडाएर नछोड्ने जिम्मेवारी महसुस भइरहेको छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *