सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । संसद् बैठक सञ्‍चालनको क्रममा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता कमजोर पारिएको भन्दै सभामुख अर्यालको भूमिका खेदजनक भएको बताए । उनले सभामुखको अभिव्यक्तिको पनि विरोध गरेका छन् । ‘संसद् भनेको प्रतिपक्षको हो । सभामुख भनेको संसद्लाई व्यवस्थित गर्ने संवैधानिक संस्था हो,’ बिहीबार गृहजिल्ला पाँचथरमा आयोजित भएक कार्यक्रममा आङ्देम्बेले भने, ‘तर आज जसरी प्रतिपक्षले आफ्ना धारणा राखिरहेका छन्, त्यसप्रति सभामुखबाट व्यक्त भएका अभिव्यक्तिहरू संसदीय जस्तो लागिरहेको छैन, त्यति कर्णप्रिय सुनिरहेको छैन ।’

संसद्मा प्रतिपक्षले उठाएका विषयलाई सरकारसम्म पुर्‍याउन सभामुख अर्याल असफल भएको टिप्पणी गरे । ‘उहाँले संसद्मा उठेका कुरा सरकारसम्म पुर्‍याउनै सक्नुभएको छैन । त्यही भएकाले प्रतिपक्षमा रहेका दलहरूमा सदनभित्र असन्तोष बढिरहेको छ । उनले श्रम संस्कृति पार्टीले संसद्मा पम्प्लेट देखाएर विरोध गर्दा सभामुख अर्यालले संसदीय मर्यादामा रहन चेतावनी दिएकोप्रति पनि आपत्ति जनाए । ‘अहिले प्रतिपक्षले प्लेकार्डमार्फत असन्तुष्टि जनाउँदा त्यसलाई अमर्यादित भनिनु असंगत र खेदजनक छ,’ उनले भने । हिजो प्रतिपक्षमा हुँदा तत्कालीन सांसद, वर्तमान सभामुख अर्याल पनि वेलमा पुगेको, नीलो स्कार्फ लगाएर आन्दोलन गरेको, वेलमा बसेर किताब पढेकोजस्तो गरेर अवरोध गरेको पनि उनले स्मरण गरे । ‘त्यसबेला उचित लागेको त्यो गतिविधि आज प्रतिपक्षले आफ्ना असन्तुष्टि प्लेकार्डमार्फत राख्दा अमर्यादित कसरी हुन्छ ?,’ उनले प्रश्न गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *