जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’, एसियाली मञ्चमा सम्मानित हुँदै
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ। एशियाली ऋण महासंघ (अकू)ले ७ अगस्ट २०२६ मा गरेको मूल्यांकनपछि जनउत्थानलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्म लागू हुने गरी उक्त प्रमाणीकरण प्रदान गरेको हो।मलेसियाको क्वालालम्पुरमा हुने ‘एसियन क्रेडिट युनियन फोरम २०२६’को उद्घाटन समारोहमा आगामी सेप्टेम्बर ११ मा जनउत्थानलाई सो ब्राण्ड औपचारिक रूपमा प्रदान गरिने भएको छ। अकूको मूल्यांकनमा वित्तीय कार्यसम्पादन, सदस्य–ग्राहक केन्द्रितता, आन्तरिक व्यवसायिक प्रक्रिया तथा सिकाइ र वृद्धि गरी चार पक्ष समेटिएका थिए। जनउत्थानले क्रमशः ५२ मध्ये ३९, १०८ मध्ये ८३, १०४ मध्ये ७८ र ८० मध्ये ६१ अंक प्राप्त गरेको छ।
अकूले सीमान्तकृत समुदाय र युवा उद्यमीलाई साना व्यवसाय तथा दिगो आर्थिक गतिविधिमा जोड्न संस्थाले दिएको वित्तीय समाधानको समेत प्रशंसा गरेको छ। संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउन तथा न्यून आय भएका सदस्य लक्षित कार्यक्रम र वित्तीय साक्षरता विस्तार गर्न अकूले सुझाव दिएको छ। जनउत्थानले सन् २०१८ देखि एक्सेस ब्राण्ड प्राप्त गर्दै आएकोमा पछिल्लो तीन वर्षदेखि निरन्तर ‘एक्सेस सिल्भर’ प्राप्त गर्दै आएको छ। हाल ४४ हजार ३ सय ७० सदस्यलाई वित्तीय सेवा दिँदै आएको संस्थाको जगेडा कोषमा ४० करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले ‘एक्सेस सिल्भर’ उपलब्धि सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, उपसमिति र सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले आगामी दिनमा सदस्यका आवश्यकताअनुसार थप गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी नवलपुरको मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्रोन्ज ब्राण्ड प्राप्त गरेको छ । एक्सेसको निर्धारित स्तर पूरा गरेका जनउत्थान साकोस र मध्यनेपाल साकोस अकू बाट हुने अडिटमा सहभागिता जनाएका थिए ।
















