विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष र चार सदस्य पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एकजना महिला हुनुपर्नेछ । सूचनाअनुसार विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको हो । इच्छुक उमेदवारहरूले ऐनमा तोकिएको न्यूनतम योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा पेस गर्नुपर्नेछ ।















