गोल्यान ग्रुपको पाँचतारे होटलको लागत ६६ प्रतिशतले बढ्यो

काठमाडौं । गोल्यान ग्रुपको वेदा हस्पिटालिटीले लुम्बिनीमा निर्माण गरिरहेको पाँचतारे होटल परियोजनाको लागत ६६ प्रतिशतले बढेको छ । सुरुमा ४ अर्ब ६ करोड रुपैयाँ अनुमान गरिएको परियोजनाको कुल लागत संशोधनपछि ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । कम्पनीले होटललाई साधारण पाँचतारे होटलभन्दा माथिल्लो स्तरको ‘अपस्केल लक्जरी डेस्टिनेसन’का रूपमा विकास गर्ने रणनीति लिएपछि परियोजनाको आकार र लागत दुवै उल्लेख्य रूपमा बढेको हो । उक्त होटल बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ । उक्त होटल अब ‘डेस्टिनेसन वेडिङ’, अन्तर्राष्ट्रिय सम्मेलन, उच्चस्तरीय धार्मिक तथा अवकाश पर्यटनलाई लक्षित गर्दै विस्तार गरिएको कम्पनी जनाएको छ । परियोजनामा थप प्रिमियम संरचना समावेश गरिएपछि होटलको कुल निर्मित क्षेत्रफल करिब ६९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । मायादेवी गाउँपालिकामा निर्माणाधीन होटलमा १७७ वटा लक्जरी कोठा रहनेछन् । होटल परिसरमा अन्तर्राष्ट्रियस्तरका रेस्टुरेन्ट, स्वीमिङ पुल, स्पा, क्यासिनो, बैंक्वेट हल तथा ठूला सम्मेलन आयोजना गर्न मिल्ने अत्याधुनिक कन्फरेन्स सुविधा पनि रहनेछ ।

कम्पनीले होटललाई विश्वप्रसिद्ध हायात रिजेन्सी ब्रान्डअन्तर्गत सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि वेदा हस्पिटालिटीले हायात इन्टरनेशनल साउथवेस्ट एशिया लिमिटेडसँग व्यवस्थापन सम्झौता गरिसकेको छ । परियोजनाको लागत बढेसँगै यसको वित्तीय व्यवस्थापनमा पनि परिवर्तन गरिएको छ । सुरुमा ७५ः२५ को ऋण–इक्विटी अनुपातमा निर्माण गर्ने योजना रहे पनि संशोधित संरचनाअनुसार अब ६७ः३३ अनुपातमा परियोजना अगाडि बढाइनेछ । कुल ४ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन ऋणमध्ये हालसम्म २ अर्ब ८० करोड रुपैयाँ सुनिश्चित भइसकेको छ भने बाँकी १ अर्ब ७० करोड रुपैयाँ जुटाउने प्रक्रिया जारी रहेको कम्पनीले जनाएको । कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । यसमध्ये ४ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन ऋण र १२ करोड रुपैयाँ अल्पकालीन ऋण समावेश रहेको छ । गोल्यान समूहले यसअघि काठमाडौंको सोल्टीमोडमा हायात सेन्ट्रिक ब्रान्डअन्तर्गत पाँचतारे होटल सञ्चालनमा ल्याइसकेको छ । समूहले सञ्चालन गरिरहेको सिटी होटलको व्यवस्थापन पनि हायात समूहले नै गर्दै आएको छ । वेदा हस्पिटालिटीको स्थापना सन् २०२२ डिसेम्बर २९ मा गरिएको हो । निर्माणाधीन होटल करिब ४ लाख ९२ हजार ५८८ स्क्वायर फिट क्षेत्रमा फैलिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *