पोखरा रोयल साकोस २५औं वर्षमा प्रवेश

पोखरा । गण्डकी प्रदेशको कास्कीस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘सुखी सदस्य, दिगो सहकारी’को दीर्घकालीन सोच बोकेर अघि बढेको संस्था आज (जेठ ८ गते) २५औं वर्षमा प्रवेश गरेको छ । सहकारी अभियानमा ‘सिल्बर जुब्ली’ यात्रा तय गर्नु आफैंमा एउटा उपलब्धि हो । अझ सहकारी क्षेत्रले पछिल्ला वर्षहरूमा भोगिरहेको चुनौतीपूर्ण अवस्थाबीच सदस्यको विश्वास जोगाउँदै, सेवा विस्तार गर्दै र संस्थागत सुदृढता कायम राख्दै २५ वर्ष पूरा गर्नु झन् महत्वपूर्ण मानिएको छ । पोखरा रोयल साकोसले आफ्नो यात्रालाई केवल कारोबार विस्तारको रुपमा मात्र होइन, सदस्यको जीवनस्तर उकास्ने अभियानको रुपमा अघि बढाएको छ । यही कारणले यो संस्था आज पोखरामा मात्र सीमित नभई देशभरका सहकारीकर्मीहरुको अध्ययन–अवलोकनको ‘पाठशाला’ बनेको छ ।
यस्तो छ वित्तीय अवस्था
२०८३ वैशाख मसान्तसम्मको वित्तीय विवरणले संस्थाको अवस्था सुदृढ रहेको देखाउँछ । हाल संस्थामा १० हजार ४ सय ४५ सदस्य आबद्ध छन् । कुल सम्पत्ति २ अर्ब ५२ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने १५ करोड ५१ लाख रुपैयाँभन्दा बढी शेयर पूँजी रहेको छ । संस्थाको स्वपुँजी अर्थात् संस्थागत पूँजी २२ करोड ५२ लाख रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै, १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेर १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ । संस्थासँग ४६।२४ प्रतिशत तरलता कायम छ। सहकारी क्षेत्रमा तरलता अभाव र वित्तीय संकटका चर्चा भइरहेका बेला पोखरा रोयल साकोसले भने वित्तीय सन्तुलन कायम राख्दै सदस्यको विश्वास अझ मजबुत बनाएको देखिन्छ । पोखरा रोयल साकोसलाई ‘प्रविधिमैत्री सहकारी’का रुपमा चिनिन्छ । सदस्यको आवश्यकता र समयको मागलाई बुझेर संस्थाले आफ्ना सेवालाई क्रमशः क्यासलेस, चेकलेस र पेपरलेस बनाउँदै लगेको छ । संस्थाले कोर बैंकिङ प्रणाली अवलम्बन गरेको छ भने सम्पूर्ण तथ्यांक क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको जनाएको छ । सदस्यहरुले कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर सेवा, एटीएम सेवा, मोबाइल टपअप, बिल भुक्तानी तथा रकम ट्रान्सफरजस्ता सुविधा प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । ‘रोयल स्मार्ट बैंकिङ’ सेवाले सदस्यलाई सहकारीको सेवा हातहातमै पुर्याएको छ । यसले सहकारीलाई आधुनिक वित्तीय सेवासँग प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ । पोखरा रोयल साकोसले आफूलाई केवल बचत तथा ऋण कारोबार गर्ने संस्था होइन, सदस्यको जीवनचक्रसँग जोडिएको सामाजिक संस्था हो। संस्थाले शिशुस्याहार राहत, स्वास्थ्योपचार सहयोग, सुत्केरी स्याहार, दुर्घटना बीमा, पेन्सन तथा किरिया खर्चसम्मका सेवा प्रदान गर्दै आएको छ । रोयल फाउन्डेसनमार्फत सदस्यलाई मृत्यु राहतस्वरुप १० हजार रुपैयाँ तथा सुत्केरी स्याहार खर्च ३ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ । ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई वार्षिक ५ हजार रुपैयाँका दरले पेन्सनसमेत प्रदान गर्ने गरिएको छ । सहकारीले सामाजिक उत्तरदायित्वलाई सेवा विस्तारसँग जोडेको देखिन्छ । यसले सदस्य र संस्थाबीच भावनात्मक सम्बन्ध बलियो बनाएको छ । साकोसको अबको प्राथमिकता सदस्यलाई केवल बचतकर्ता वा ऋणीको भूमिकामा सीमित नराखी उत्पादन र उद्यमशीलतामा जोड्ने रहेको छ । संस्थाले व्यवसाय विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना गरिसकेको छ । महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले पाककला (कुकिङ) तालिम सञ्चालन गरिएको छ । संस्थाले रोजगारी सिर्जना, आयआर्जनका अवसर विस्तार र स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीमार्फत योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ । पोखरा महानगरपालिका–१० बुद्धचोकमा सञ्चालनमा रहेको ‘रोयल दिदीबहिनी किचन’ पोखरा रोयल साकोसको अर्को उदाहरणीय परियोजना हो । ९९ जना महिला सदस्यको जनही २ लाख रुपैयाँ लगानीमा सञ्चालन भएको यो रेस्टुराँ सहकारी अवधारणामा सञ्चालित छ । महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास र सामूहिक लगानीको नमुना परियोजनाका रुपमा यसलाई हेरिएको छ । निजी क्षेत्रका लागि समेत अनुकरणीय मानिएको यो प्रयासले सहकारीलाई वित्तीय कारोबारभन्दा बाहिर सामाजिक–आर्थिक अभियानका रुपमा स्थापित गरेको छ । पोखरा रोयल साकोसले आफ्ना सदस्यलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामार्फत सहुलियत सेवा उपलब्ध गराउँदै आएको छ । ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स तथा पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेससँग सहकार्य गरेर सदस्यलाई छुटसहित सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसले सहकारी सदस्यताबाट प्रत्यक्ष लाभ प्राप्त हुने अनुभूति गराउने संस्थाको विश्वास छ । पोखरा पुग्ने धेरै सहकारीकर्मीहरुको पहिलो रोजाइ पोखरा रोयल साकोस बन्ने गरेको छ । सफल व्यवस्थापन, सदस्यमैत्री सेवा, प्रविधिको प्रयोग र संस्थागत अनुशासनका कारण यो संस्था अध्ययन–अवलोकनको केन्द्र बनेको हो । संस्थाले बेलायत, मलेसियालगायत मुलुकसँग सहकारी सम्बन्ध विस्तार गरेको छ भने काठमाडौंको चन्द्रागिरि साकोससँग भगिनी सम्बन्धसमेत स्थापना गरेको छ । सूचना अधिकारी मिलन ढकालका अनुसार यस्ता सहकार्यले ज्ञान, सीप र अनुभव आदानप्रदानमा ठूलो योगदान पुर्याएको छ । यसले संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप प्रतिष्ठित बनाएको उनको भनाइ छ । कोभिड–१९ को कठिन समयमा पोखरा रोयल साकोसले सञ्चालन गरेको ‘मिसन १००’ अभियानले सहकारी क्षेत्रमा फरक पहिचान बनाएको थियो । तरलता व्यवस्थापन, सदस्य वृद्धि, सामाजिक उत्तरदायित्व र छवि निर्माणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो अभियान संस्थाको रणनीतिक मार्गचित्रकै हिस्सा बनेको छ । सय दिने अभियानमार्फत संस्थाले बचत वृद्धि, सुरक्षित लगानी र सदस्यसँग सम्बन्ध विस्तारका गतिविधि सञ्चालन गरेको थियो । पोखरा रोयल साकोसको सुरुवात २०५५ सालमा काठमाडौंको अनामनगरमा ‘रोयल सहकारी संस्था’का रुपमा भएको थियो । पछि सरकारी नीतिअनुसार शाखाहरुलाई स्थानीयकरण गर्ने क्रममा पोखरामा रहेको क्षेत्रीय कार्यालयलाई २०५९ साल जेठ ८ गते ‘पोखरा रोयल सहकारी संस्था लिमिटेड’का रुपमा दर्ता गरिएको हो । सुरुवातमा २८ सदस्य र ७ लाख रुपैयाँ पूँजीबाट सुरु भएको संस्था अहिले चार जिल्लामा फैलिएको बलियो सहकारी बनेको छ । २०७६ सालमा शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएपछि संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ र लमजुङसम्म विस्तार भएको हो । पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रप्रति अविश्वास बढिरहेका बेला पोखरा रोयल साकोसले भने सदस्यको विश्वास, पारदर्शिता, प्रविधि र सेवामुखी अभ्यासमार्फत फरक सन्देश दिएको छ । सदस्यमैत्री सेवा, सामाजिक उत्तरदायित्व, वित्तीय अनुशासन र नवीन सोचका कारण यो संस्था सहकारी अभियानको एउटा सफल नमुना बनेको छ । २५औं वर्षमा प्रवेशसँगै पोखरा रोयल साकोसले केवल आफ्नो इतिहासको उत्सव मनाएको छैन, सहकारी अभियानलाई आशावादी बनाउने एउटा उदाहरण पनि प्रस्तुत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *