समाजसेवी मीनबहादुर गुरुङको सहयोगमा किओच काठमाडौं बाल अस्पतालको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका ७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन नेपालका सफल व्यवसायी, उदार समाजसेवी तथा मानवीय भावनाले भरिपूर्ण व्यक्तित्व मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् । शनिबार आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न रु ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताए । अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ । उक्त इन्स्टिच्युटको काठमाडौं उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ । देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।
समाजसेवी मीनबहादुर गुरुङले आफ्नो जीवनलाई केवल व्यापारमा सीमित राख्नुभएन, उहाँले समाज र राष्ट्रसेवालाई आफ्नो प्रमुख धर्म बनाउँदै आउनुभएको छ । व्यवसायिक सफलताको शिखरमा पुगेर पनि समाजका पीडित, असहाय र भविष्यका कर्णधार बालबालिकाको स्वास्थ्य सेवाका लागि उहाँले देखाएको समर्पण आज सम्पूर्ण नेपालीका लागि प्रेरणाको विषय बनेको छ । उहाँकै पहलमा निर्माण सम्पन्न भएको किओच बाल अस्पतालको ७१ करोड रुपैयाँ बराबरको अत्याधुनिक भवन हस्तान्तरण गर्ने क्रममा उहाँ भावविह्वल बन्नुभएको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो । यो केवल एउटा भवन हस्तान्तरण मात्र होइन, मानवता, सेवा र करुणाको अनुपम उदाहरण पनि हो । समाजका लागि केही गर्नुपर्छ भन्ने सोच र निस्वार्थ भावनाले प्रेरित भएर मीनबहादुर गुरुङले देश र नागरिकको सेवामा निरन्तर योगदान दिँदै आउनुभएको छ । नेपालको व्यावसायिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत उहाँले पुर्‍याएको योगदान अतुलनीय मानिन्छ । शिक्षा, स्वास्थ्य, विपद् राहतदेखि मानवीय सेवासम्म उहाँको सक्रियता सधैँ उदाहरणीय रहँदै आएको छ । आजको समयमा धन कमाउने धेरै होलान्, तर समाजका लागि मन खोलेर दिने व्यक्तित्व विरलै भेटिन्छन् । त्यसैले धेरै नेपालीहरूका लागि मीनबहादुर गुरुङ केवल सफल व्यवसायी मात्र होइन, प्रेरणादायी समाजसेवी, चेतनशील नागरिक र मानवीय हृदय भएका महान् व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *