प्रधानमन्त्रीलाई त्रुटिपूर्ण अभिव्यक्तिमा भूलसुधार गराऔँ’
काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिमा भूलसुधार गरेर अघि बढ्ने प्रस्ताव राखेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्यालले प्रधानमन्त्रीले सदनमा आएर क्षमा याचना गर्ने र सदनले एउटा संकल्प प्रस्ताव पारित गरेर अघि बढ्ने प्रस्ताव राखेकी हुन् । “एउटा संकल्प प्रस्ताव पारित गरौँ, प्रधानमन्त्रीलाई आफ्नो त्रुटिपूर्ण अभिव्यक्तिमा यही सदनमा आएर भूलसुधार गराऔँ,” अर्यालले भनिन्, “राष्ट्रियताको विषयमा सदन विभाजित हुन हुँदैन । सबैको साझा धारणा बन्ने गरी संकल्प प्रस्ताव पारित गरेर यो विषय टुंग्याउँदै अघि बढौँ । उनले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी दुबैसँग मेल नखआएको बताइन् । “हामीले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी विपरीत सदनमा दिएको राष्ट्रिय अखण्डता र स्वाधीनताविरुद्धको अभिव्यक्ति तत्काल सच्याइयोस् भनेर पटक–पटक ध्यानाकर्षण गरेका हौँ,” उनले भनिन् ।
अर्यालले राष्ट्रियताका विषयको बहमा भाग लिँदै गर्दा ०७७ जेठ १३ गतेलाई स्मरण गरेकी थिइन् । त्यसवेला भूमी व्यवस्थामन्त्रीका रूपमा उनले नै राखेका प्रास्तावमा प्रतिनिधिसभाको सर्वसम्मतिबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको ‘चुच्चे नक्सा’समेटेर संविधान संशोधन भएको थियो । “आज हामी यसरी छलफल गर्दैगर्दा ०७७ जेठ १३ को याद आइरहेको छ । त्यसवेला पनि सत्तापक्ष र प्रसितपक्ष थियौँ । हाम्रा विचारहरू अलग–अलग थिए । तर, अतिक्रमित भूमि फिर्ता गरेर चुच्चे नक्सा बनाउँदा सर्वसम्मत भएका थियौँ,” अर्यालले भनिन्, “यो मुलुकमा जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको साझा मुद्दा बनाउँदै संविधानको अनुसूची बदलेर जनजिब्रोमा प्रचलित ‘चुच्चे नक्सा’ प्रयोगमा छ । लिपुलेक, लिम्पियाधुरा कालापानी नेपालको अभिन्न अंग हो । त्यो फिर्ता ल्याउनुपर्छ । उनले प्रधानमन्त्रीले विपक्षीको आग्रहलाई कमजोरीका रूपमा हेर्नु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले सदनमा उभिएर माफी नमाग्दासम्म संसद् नचल्ने प्रस्ट पारिन् ।
















