देउवा समूहको लुम्बिनी भेला आज
काठमाण्डौं । नेपाली कांग्रेस इतर समूहले आज (मंगलबार) लुम्बिनीमा प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको लमहीमा गर्न लागेको हो । विशेष महाधिवेशनपछि पार्टीबाहिर रहेका तथा निष्क्रिय बनेका नेता–कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा जोड्ने, संगठनभित्र एकता सुदृढ गर्ने र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले देउवा पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोही कार्यक्रमअन्तर्गत यसअघि ६ प्रदेशमा भेला गरिसकेको देउवा समूहले मंगलबार अन्तिम प्रदेश भेला गर्न लागेको हो । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने जनाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा हाल विदेश भ्रमणमा रहेकाले समूहको गतिविधिको नेतृत्व नेता पूर्णबहादुर खड्काले सम्हालिरहेका छन् ।
















