श्रमदानको सन्देश

श्रम संस्कृति पार्टीले दार्चुलाको दुष्लिङ्गमा निर्माण गरेको झोलुङ्गे पुलको उद्घाटन भएको छ । त्यसलाई हामीले एउटा सामान्य पुलको रूपमा लिनु हुँदैन । त्यो हाम्रो नेपाली समाजलाई एउटा महत्त्वपूर्ण सन्देश पनि हो । त्यसले नेपाली जनतालाई श्रमको महत्वबोध गराउन  एउटा कोशेढुंगाको काम गरेको छ । नेपालको उन्नति प्रगतिको लागि विदेशी दाताको मुख ताक्ने र अनुदान प्राप्त नभई कुनै काम गर्न अग्रसर नहुने प्रवृत्तिमाथि चुनौती दिने एउटा शक्तिको उदय हुनु नेपालका लागि सुखद आश्चर्य साबित भएको छ । तुइनको जोखिमपूर्ण माध्यमबाट खोला पार गर्न लागेकी एक किशोरीको कथाबाट शुरु भएको यो कार्यले नेपाली समाजलाई जागरणको यात्रामा अग्रसर गराउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा शङ्का छैन । तर आज पनि नेपाल निर्माणमा उठेका हातहरू विरुद्ध नृशंस प्रहार भइरहेको छ । नेपाल आमलाई सुरक्षित सुखी र आनन्दित बनाउने महाभियनामा हामी सबै नेपाली जुट्नुपर्ने अवस्थामा देशकै विरुद्ध घात गर्नेहरूको सङ्ख्यामा अनपेक्षित वृद्धि चिन्ताको विषय सहो । आज नेपालको राजनीति यस्तो विकृत र कुरूप बनेको छ कि भ्रमलाई सत्यको रूपमा प्रचार गर्ने र सत्यलाई बङ्ग्याएर स्वार्थपूर्ति गर्नेको जमातको बोलवाला छ । राजनीतिक दल र कार्यकर्तामा चेतना, समझ र इमानजमान मरेर गएको छ ।
नेपाल निर्माणमा योगदान दिएको शक्ति विरुद्ध विष वमन गर्ने र जनता र राष्ट्रप्रति घात गर्नेको हाई हाई गर्ने माहौल बनाइएको छ । नेपाललाई स्वतन्त्र र मुक्त गराउनेप्रतिको त्यो वितृष्णा अकारण भने जागेको होइन । कारण पत्ता लगाएर त्यसको निराकरण गर्नतिर जिम्मेवार शक्ति अग्रसर नहुँदाको परिणाम मुलुकले भोगिरहनु परेको छ । अझ त्यो स्थिति कस्तो रूपमा अगाडि आउने हो यकिन गर्न सकिने अवस्था छैन । नयाँको नाममा प्रकट भएकाहरूको चरित्र, नियत र व्यवहारले सकारात्मक सङ्केत दिएको छैन । झन् जनतालाई राहत दिने, जनता र देशप्रति निस्वार्थ सेवा भाव प्रकट गर्ने श्रम संस्कृति पार्टीमाथि सत्तारुढ दल र तिनका अन्धभक्तबाट भएको आक्रमणले त मुलुकको सङ्कट कति गहिरो छ भन्ने प्रस्टै देखाएको छ । आफूलाई कथित अभियन्ता बताउने, पढेलेखेका र अनुभवी दाबी गर्नेहरूले समेत सोसल मिडियाको दुरुपयोग गर्दै निम्न स्तरको आरोप लगाउनुलाई स्वाभाविक मान्न सकिँदैन ।
देश विकासमा तीन करोड नेपालीका ६ करोड हात एकै पटक सक्रिय हुनुपर्ने बेलगाम  काम गर्नेमाथि नै षड्यन्त्र गर्ने, तिनको चरित्र हत्या गर्ने कुराले जनता र देशको भलो गर्दैन । काम गर्नेहरूले गरेको दुःख, संघष र त्यागलाई मजाकको विषय बनाउने हाम्रा सहयात्री, मित्र शुभचिन्तक हुन सक्दैनन् । नेपाल आज विकासको जुन विन्दुमा छ, त्यसका लागि पनि लामो समय लागेको छ, ठुलो खर्च भएको छ । विकासको नाममा अनेक दुष्कर्म भए, मुक्तिका नाममा निर्दोष जनताको कत्लेआम भयो । विगतबाट सिकेर सही बाटो पहिल्याउनु पर्नेमा फेरि विदेशीको इशारामा स्वार्थको रोटी सेक्नेहरूकै हातमाथि परेको देखिँदैन । जनताको इमानदारी, सज्जनता र सोझोपनको फाइदा उठाउन सामाजिक सञ्जालको दुरुपयोग गर्ने, फेक आइडी बनाएर नचाहिँदा कुरा लेख्ने प्रवृत्तिलाई रोक्न सकिएन भने देश वर्वादीमा जानबाट जोगाउन सम्भव छैन । राजनीतिमा, विकासमा, शिक्षामा, स्वपथ्यमा सबै क्षेत्रमा समस्या छन् । तर, समस्याको एउटै र मूल जरोचाहिँ पुस्ता होइन । सबै क्षेत्रमा युवा पुस्ता अगाडि आवास भन्ने कामना गर्नु नराम्रो होइन तर युवा पुस्ता भन्ने बित्तिकै राम्रै हुन्छ भन्ने कुरा सत्य हुन सक्दैन । देश विकासका लागि निष्ठापूर्वक गरिने कर्मले ठुलो महत्त्व राख्छ । त्यस्ता अनेक उदाहरण छन् पनि । जापान, कोरिया, मलेसिया, सिंगापुर जस्ता देशको उन्नतिमा जनताको श्रमको ठुलो हिस्सा छ । श्रम गरेर देश बन्दैन, ढुङ्गा बोक्ने ज्यामी, मजदुर, कुल्ली हुन तिनले केही गर्न सक्दैनन् भन्ने कुराको भ्रमलाई चिर्न पनि हाम्रा शिक्षाको रूप बदल्नु पर्छ । अहिले श्रम संस्कृति पार्टीले जुन रूपमा श्रमप्रतिको सममान जगाएको छ । दशैभरि श्रमदान अभियान चलाएको छ, त्यसको कदर सामाजिक क्षेत्रमा हुनुपर्छ । प्रविधि मात्र विकासको आधार होइन । एआइले आफै केही गर्दैन । समक्ष जनशक्ति र त्यसलाई परिचालन गर्ने नेतृत्वले नै वास्तवमा प्रविधिलाई मानव जातिको हितमा सही ढङ्गले उपयोग गर्न सक्छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *