मिडिया हाउसबाहिर राखिएका शंकास्पद गाडीबारे छानबिन गर्न रास्वपाको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, “विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको गम्भीर ध्यानाकर्षण भएको छ ।” राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको रास्वपाले जनाएको छ । एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ,” रास्वपाले विज्ञप्तिमा भनेको छ ।

कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू रास्वपालाई स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो र यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको रास्वपाले भर्त्सना गर्ने जनाइएको छ । “यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,” रास्वपाले विज्ञप्तिमा भनेको छ । रास्वपाले सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गरेको छ । “सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ,” रास्वपाले भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *