राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बृहत् बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बीपी कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर त्यसबखत दिएको जवाफको स्मरण गरे । “पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्साएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन ।
उनले गाडी तेर्साउन आएकाहरू सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गरे । सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताए । उनले सुकुम्वासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै कानुनले दिएको निकास नखोजेर सरकार आफैँले समस्या सिर्जना गरेको उल्लेख गरे । सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नुपर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको उनको भनाइ छ । सभापति थापाले २०८३ साउन ६ गते पार्टीको जरा अभियान सम्पन्न भएलगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्ने बताए ।















