प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ छलफल र अनुमोदनका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) छलफल र अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।















