संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तर
काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले स्वर्गीय गोल्छाको दूरदर्शी नेतृत्व, औद्योगिकीकरण, उद्यमशीलता प्रवद्र्धन तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने योगदानको स्मरण गर्दै उद्योग परिसर, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ । संस्थापक दिवसको अवसरमा कम्पनीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, उत्कृष्ट कर्मचारी सम्मान, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण तथा कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरणलगायतका सामाजिक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कम्पनीका अनुसार स्वर्गीय दिवाकर गोल्छाले नेपालमा औद्योगिकीकरणलाई गति दिँदै कर्कटजस्ता पाता, पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिलका भाँडाकुँडा, जिआई, कपर वायर तथा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरी करिब २० हजार जनालाई रोजगारी उपलब्ध गराएका थिए । गुणस्तरीय कर्कटजस्ता पाता स्वदेशमै उत्पादन गर्ने उद्देश्यले स्थापना भएको हुलास स्टिल इन्डस्ट्रिजले ४५ वर्षको यात्रामा नेपालको अर्थतन्त्र, औद्योगिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न सामाजिक संघसंस्था तथा समुदायलाई आर्थिक सहयोग र सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि जनाएको छ ।

















