धार्मिक समुदायका अगुवाको संयुक्त अपिल– सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुनोस्
काठमाडौं । धार्मिक समुदायका अगुवाले सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक र सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन संयुक्त अपिल गरेका छन् । विश्व हिन्दु महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । “विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौँ,” संयुक्त विज्ञप्तिमा भनिएको छ । सबै धर्मको भाव मानवकल्याण, सहिष्णुता अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ । सामाजिक एकतालाई बलियो बनाउनु सामूहिक जिम्मेवारी भएको उनीहरूले जनाएका छन् । “सदियौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुयाउन भइरहेका विभिन्न क्रियाकलापहरूप्रति सचेत रहन अपिल गर्दै हामी स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनर्स्थापित गर्न सक्रिय योगदान दिन अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
सबै नेपालीलाई शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न विज्ञप्तिमार्फत आह्वान गरिएको छ । सुनसरीको कप्तानगन्ज क्षेत्रमा केही दिनअघि भएको घटना तथा त्यसका कारण मधेस प्रदेशमा सिर्जित असहज परिस्थितिप्रति उनीहरूले दुःख व्यक्त गरेका छन् । सुनसरी, सिरहा तथा मधेस प्रदेशका अरू जिल्लामा भएका घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना धार्मिक समुदायका अगुवाले गरेका छन् । “नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो । यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार हुन् । कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ,” उनीहरूले विज्ञप्तिमा भनेका छन् । सुनसरी, सिरहा तथा मधेस का अरू जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।


















