नेपालको अनुमतिविना नै भारत–चीनले लिपुलेकमार्फत सुरु गरे सीमा व्यापार
काठमाडौं । नेपालको लिपुलेक हुँदै भारत र चीनबीच हुने सीमा व्यापार ६ वर्षको लामो अन्तरालपछि पुनः सुरु भएको छ । भारत–चीन व्यापार संघ पिथौरागढका अध्यक्ष जीवनसिंह रोंकेलीको नेतृत्वमा २० सदस्यीय पहिलो व्यापारिक प्रतिनिधिमण्डलले जुलाई ३१ को साँझ गुञ्जीमा अध्यागमन प्रक्रिया पूरा गरेका थिए । उनीहरू शनिबार बिहान लिपुलेक भञ्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट पुगेको बताइएको छ । सुरक्षाका कारण यो प्रतिनिधिमण्डलले भारत–तिब्बत सीमा प्रहरीका जवानहरू र चिनियाँ प्रशासनिक अधिकारीहरूको प्रत्यक्ष निगरानीमा सीमा पार गरेको बताइएको छ । पहिलो चरणमा यसअघि नै यो व्यापारमा संलग्न रहेका र पूर्वदर्ता भइसकेका व्यापारीहरूलाई मात्र अनुमति दिइएको समाचारमा उल्लेख छ । “व्यापारीहरूको पहिलो समूहले भारतबाट नयाँ सामान लैजाने छैन, बरु ताक्लाकोटमा पहिले नै उपलब्ध आफ्ना सामानहरूबाट व्यापार सुरु गर्नेछ । बाँकी दर्ता भएका व्यापारीहरूलाई चीनबाट अनुमति पाएपछि चरणबद्ध रूपमा पठाइनेछ,” रोंकलीले जानकारी दिए । नेपालको परामर्शविना नै अगस्ट २०२५ मा भारत र चीनबीच भएको सहमतिपश्चात् यो मार्ग पुनः सञ्चालनमा आएको हो । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्ना अभिन्न भूभाग रहेको अडान राख्दै आएको छ । यसअघि पनि दुवै देशलाई कूटनीतिक नोट पठाएर यो व्यवस्थाको विरोध गरिसकेको छ ।
















