महालक्ष्मी विकास बैंकको खुद नाफा ६३ करोड

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले अघिल्लो आवको भन्दा नाफा ४८.४६ प्रतिशतले बढाएको हो । बुधबार सार्वजनिक भएको आव २०८२।८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको ४२ करोड ४३ लाख १८ हजार रूपैयाँको तुलनामा २० करोड ५६ लाख बढी हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आव अन्त्यमा बैंकको ईपीएस ९.८८ रुपैयाँ रहेकामा १३.९६ रुपैयाँ पुगेको छ । आव २०८२।८३ मा गरेको नाफामध्ये बैंकले सेयरधनीहरूलाई बाँड्न मिल्ने कुल वितरणयोग्य नाफा ४६ करोड ५१ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवको रिटेन्ड अर्निङसमेत जोड्दा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १०.३१ रुपैयाँ (१०.३१ प्रतिशत लाभांश क्षमता) रहेको देखिन्छ । बैंकले आशाजनक लाभांश क्षमतासहितको वित्तीय विवरण प्रकाशन गरेको हो । महालक्ष्मी विकास बैंकले आव २०८२।८३ मा २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड १२ लाख रूपैयाँ रहेकामा गत आवमा यस्तो आम्दानी २० करोड ७५ लाख रूपैयाँले बढेको हो । बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) पनि ४.४८प्रतिशत बाट घटेर ४.१९ प्रतिशतमा सीमित भए तापनि खुद ब्याज आम्दानी बढेको हो ।

यसबीचमा खुद फी एन्ड कमिसन इन्कम २० करोड ६५ लाख रुपैयाँबाट बढेर २३ करोड ४ लाख रूपैयाँ पुगेको छ । यता असार मसान्तमा सम्भावित नोक्सानीका लागि बैंकले ३१ करोड ५६ लाख ८० हजार रूपैयाँ प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) गरेको छ । नोक्सानी व्यवस्थाका लागि बैंकले अघिल्लो आव अन्त्यमा ५१ करोड ७३ लाख ७२ हजार रूपैयाँ छुट्याएको थियो । प्रोभिजन रकम घट्नाले नाफा बढाउन मुख्य सहयोग पुगेको छ । यसबीचमा सञ्चालन खर्च केही बढे तापनि बढेको सञ्चालन आयका कारण बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष ६१ करोड १४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा भने केही बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्कृय कर्जा अनुपात ४.९८ प्रतिशत रहेकामा अहिले ६.३२ प्रतिशत पुगेको छ । तर, खुद निष्क्रिय कर्जा भने १.५२ प्रतिशतमात्र छ । असार मसान्तका मुख्य वित्तीय अनुपातहरू हेर्ने हो भने पुँजी कोष अनुपात १७.०६प्रतिशत बाट बढेर १७.५७प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात १३.५३ प्रतिशतबाट बढेर १४.०४ प्रतिशत कायम भएको छ । बैंकको कोषको लागत ४.५६प्रतिशत बाट घटेर ३.६२प्रतिशत मा सीमित हुँदा आधार दर ६.९४ प्रतिशत बाट घटेर ५.६६प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ हुँदा सीडी रेसियो ८६.८२ प्रतिशत रहेको छ । गत आवमा बैंकको कुल निक्षेप अघिल्लो वर्षको अन्त्यको ५५ अर्ब ११ करोड ५४ लाख रुपैयाँबाट सामान्य घटेर ५५ अर्ब ९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । यसैगरी ग्राहकतर्फको कर्जा लगानी भने अघिल्लो वर्षको ४१ अर्ब ५१ करोड ४ लाख रुपैयाँबाट बढेर ४३ अर्ब ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ छ । जगेडा कोष पनि २ अर्ब ३४ करोड १७ लाखबाट बढेर २ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यता नेटवर्थ १६५.४२ रूपैयाँ र ईपीएस १३.९६ रूपैयाँ रहेको बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा अन्तिम मूल्य प्रतिकित्ता ३४६ रूपैयाँ रहेको छ । जसअनुसार पीई रेसियो २४.७८ रहेको छ भने इक्युटीमा प्रतिफल ८.६६ प्रतिशत रहेको छ । यता बैंकको वक्यौता ब्याज केही बढ्दा गैरबैंकिङ सम्पत्ति भारी मात्राले घटाउन सफल भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा बैंकले गत आवमा कर्जा बढाएको छ भने नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घटाएको छ । यसरी खुद ब्याज आम्दानीमा सुधार आउनुका साथै आन्तरिक व्यवस्थापन र प्रोभिजन रकम घटेका कारण बैंकले नाफा उल्लेख्य बढाउन सफल भएको देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *