आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षासँगै केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। मधेस, कर्णालीको पहाडी भूभाग तथा बागमतीका पहाडी र तराई भूभागका केही स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ। राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *