पञ्चकन्या माई हाइड्रोको वित्तीय छलाङ
काठमाडौं। पञ्चकन्या माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२।८३ मा चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा नाफामा छलाङ मारेको हो। कम्पनीले गत असार मसान्तसम्म ६ करोड ६७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनी ६ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानीमा थियो। कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीमा भएको बढोत्तरी हो।
गत आर्थिक वर्षमा कम्पनीले विद्युत् बिक्रीबाट कुल ३४ करोड ७१ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २९ करोड ३१ लाख २८ हजार रुपैयाँको तुलनामा करिब १८.४३ प्रतिशतको वृद्धि हो। १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजीको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८३.३९ रुपैयाँ, जगेडा कोष १८ करोड २६ लाख ८२ हजार रुपैयाँले ऋणात्मक रहेको छ। प्लान्टमा देखिएको केही प्राविधिक समस्याका कारण २०८३ वैशाख ७ देखि असार ८ गतेसम्म उत्पादनमा अवरोध आए पनि समग्र आम्दानी र नाफा बढेको छ।
















