नाट्टा अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। सोल्टी होटलमा सम्पन्न नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमितिको निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको छ। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुनील शर्मा निर्वाचित भए। शर्माले २५१ मत प्राप्त गर्दै विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरे। त्यस्तै, उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतसहित विजयी भइन्।
महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गर्दै निर्वाचित भए भने सचिवमा रमेश पराजुलीले १९५ मत प्राप्त गरे। कोषाध्यक्षमा डिकी शेर्पा २०८ मतसहित विजयी भइन्। सह–सचिव,सह–कोषाध्यक्षमा जीवन कोइरालाले १६६ मत प्राप्त गर्दै निर्वाचित भए। आठ सदस्यीय कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा स्मारिका थापाले सर्वाधिक २११ मत प्राप्त गरिन्। निर्वाचित अन्य सदस्यमा प्रकाश लोहनी २१०, नवीन गुरुङ २०५, दिनेश मैनाली १८९, सुमनलाल श्रेष्ठ १८८, स्वस्तिका प्रधान १८४, संकेत दाहाल १६५ र विभास पौडेल १५८ मतसहित निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता र सदस्यहरूको बृहत्तर सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले ‘डिजिटल नाट्टा’मार्फत संस्थाका सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने तथा पर्यटन व्यवसायमा रहेका नीतिगत अवरोध हटाउन पहल गर्ने बताएका छन्।

















