दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले गर्यो सरकारसँगको १४ बुँदे सहमति अस्वीकार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले सरकार र लघुवित्तपीडितबीच भएको १४ बुँदे सहमति अस्वीकार गरेको छ । सोमबार (भदौ ८) विज्ञप्ति जारी गरी अभियानले उक्त सहमति सरकार र केही ‘परिचालित’ अभियन्ताको मिलेमतोमा भएको आरोप लगाएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग गरिएको १२ बुँदे सहमतिको त्यो विपरीत भएको अभियानको भनाइ छ । “अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राख्ने र केही परिचालित अभियन्ताहरूलाई अघि बढाएर अभियानलाई कमजोर बनाउने, तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई लत्याउँदै गरिएको १४ बुँदे सहमति हामीलाई कुनै पनि हालतमा मान्य छैन,” महाअभियानको विज्ञप्तिमा भनिएको छ, “यसले पीडितका माग र मुद्दाहरूलाई समाधान गर्नेभन्दा पनि ढाकछोप गर्ने र झन् पीडित बनाउने काम मात्र भएको छ ।” न्यायको आशामा लामो र कष्टकर पैदलयात्रा गर्दै काठमाडौंसम्म आइपुगेर दुःख, पीडा र अपमान सहन बाध्य अभियन्तालाई धैर्यधारण गर्न र ‘मान्छे चिन्न’ विज्ञप्तिमार्फत आह्वान गरिएको छ । “यो अभियान सकिएको छैन, किनकि यो अभियान तपाईं–हाम्रो साझा अभियान हो,” विज्ञप्तिमा भनिएको छ, “तपाईंहरूको पीडा र दुःखमा साथ दिने दुर्गा प्रसाईं अझै जीवित छ ।”

















