बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाख बरामद

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ । धादिङ प्रहरीले यसबारे आधिकारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ। गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा रहेका ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालयहरू बगाएको थियो ।

सोही बाढीमा परेर ७ वटा वाणिज्य बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । कार्यालयहरू पूर्ण रूपमा बगाउँदा बैंकमा रहेको नगद, ऋणीले धितो राखेको सुनचाँदी र भल्टहरू पनि नदीमा मिसिएका थिए । बाढीले बगाउँदै ल्याएको एउटा भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । धादिङ क्षेत्र नम्बर १ की रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत सो भल्ट स्थानीयले फोडेर पैसा बाँडेको भन्दै लगातार आवाज उठाउँदै आएकी थिइन् । उनले गल्छीका एक वडाअध्यक्षको नेतृत्वमा करिब ३५ जनाले भल्टमा रहेको १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी थिइन् । सांसद तामाङले यसबारे जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई समेत जानकारी गराएपछि सुरक्षा निकायले सर्च अप्रेसन सुरु गरेको थियो । भल्ट फोडेर रकम लिने अन्य व्यक्तिहरूको खोजी र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *