कांग्रेस सभापति थापा बाढी प्रभावित क्षेत्रमा जाँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि जाने भएका छन् । आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा सभापति थापाले आफू नेतृत्वको टोली सोमबार बाढी प्रभावित क्षेत्रमा जाने जानकारी दिएका हुन् । उनले पार्टीका केन्द्रीय नेताहरू, जान इच्छुक नेता–कार्यकर्ता तथा विपद् व्यवस्थापन टोलीसँगै प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने बताए।
बैठकमा थापाले बाढीका कारण सयौँ बालबालिका अभिभावकविहीन भएको उल्लेख गर्दै उनीहरूको पठनपाठनको जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याए। “सयौँ केटाकेटीहरू अभिभावकविहीन भएका छन्, तिनको पठनपाठनको जिम्मेवारी लिनुपर्नेछ,” उनले भने, “म लगायत पार्टीको केन्द्रबाट केही साथीहरू बाढी प्रभावित क्षेत्रमा जान्छौँ, उनले भनेका छन् । विपद्को समयमा सबै मिलेर प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने उनको भनाइ छ । थापाले जिल्ला र वडा तहमा रहेका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएर त्यसअनुसार सहयोग र व्यवस्थापनका लागि काम गर्नुपर्ने बताएका छन् ।
















