जावलाखेल समूह बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग
काठमाडौं । जावलाखेल समूह अफ इन्डस्ट्रिजले भीषण बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरिएको यो रकम बाढी–पहिरोका कारण क्षतिग्रस्त भएका परिवार तथा समुदायको उद्धार र पुनर्स्थापनामा खर्च हुनेछ। जावलाखेल समूह अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाह, प्रवन्ध निर्देशक राजबहादुर शाह र गुरू अधिकारीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए।
यस अवसरमा जावलाखेल समूहको यो योगदान संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) प्रतिको प्रतिबद्धता र प्राकृतिक प्रकोपबाट प्रभावित समुदायप्रतिको निरन्तर साथको प्रतीक भएको बताएको छ। साथै, संस्थाले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, यस विपत्तिबाट प्रभावित सम्पूर्ण व्यक्ति र समुदायप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ। जावलाखेल समूहले यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिका बेला सरकार र समुदायलाई सहयोग गर्दै आएको छ। यस पटकको योगदानले संस्थाको ूराहत – पुनर्स्थापना – पुनर्निर्माण – एकताू भन्ने मूल भावनालाई पुनः पुष्टि गरेको छ।
















