शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
काठमाण्डौं । शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढी प्रभावितका लागि १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेका छन्। बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको हो। मंगलबार अर्थ मन्त्रालयमा सहयोग रकम हस्तान्तरण गरिएको हो। शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा र संजीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरे। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गरिएको कम्पनीहरूले जनाएका छन्। दुवै संस्थाले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

















