प्रधानमन्त्री विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग
काठमाण्डौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रूपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रूपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ।
विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै ग्रुपले उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी संयन्त्रप्रति आभार प्रकट गरेको छ। राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व रहेको भन्दै शंकर ग्रुपले यस्ता विपद्मा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

















