एमभी दुगड ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड ११ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको सहयोगार्थ एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडले उक्त रकम बराबरको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी आज अर्थमन्त्रीलाई हस्तान्तरण गरे । एमभी दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वैच्छिक आर्थिक सहयोग समेत गरी कूल १ करोड ११ लाखको चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडद्वारा अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो। बाढी पहिरोका कारण भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रुपले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोककुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
पीडित नागरिकहरूलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ। विपद्को यो कठिन घडीमा नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय तहले गरिरहेको उद्धार कार्यको प्रशंसा गर्दै ग्रुपले आगामी दिनमा पनि मानवीय सहयोगमा निरन्तर रहने प्रतिबद्धता जनाएको छ। यसै सन्दर्भमा, ग्रुपले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असर न्यूनीकरण गर्न वि।सं। २०७८ सालदेखि नै देशव्यापी वृक्षारोपण अभियान चलाउँदै आएको जानकारी दिएको छ। हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा, ६ किलोमिटर लामो राजमार्ग खण्ड र विभिन्न विद्यालय तथा प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलका बिरुवा रोपिसकिएको विज्ञप्तिमा उल्लेख छ।

















