बाढीपछि इन्टरनेट पुनर्स्थापनामा वर्ल्डलिंकको सक्रियता, बेत्रावती र धुन्चेमा सेवा सुरु
रसुवा । बाढी तथा पहिरोका कारण प्रभावित रसुवाको सञ्चार सेवा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्सले प्राविधिक टोली परिचालन गरी कामलाई तीव्रता दिएको छ। कम्पनीका अनुसार बेत्रावती र सदरमुकाम धुन्चेमा अवरुद्ध इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ। बाढीका कारण नेटवर्क पूर्वाधारमा क्षति पुगेपछि जिल्लाका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको थियो । सेवा अवरुद्ध भएपछि कम्पनीले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण प्रभावित क्षेत्रमा परिचालन गरी नेटवर्क पूर्वाधार मर्मत तथा पुनर्स्थापनाको काम अघि बढाएको हो । कम्पनीका प्राविधिक टोली आवश्यक उपकरण तथा नेटवर्क केबलसहित कठिन भौगोलिक क्षेत्रमा पुगेर सेवा पुनर्स्थापनामा सक्रिय छन्। फिल्डमा प्राविधिक टोलीले नेटवर्क केबल तथा आवश्यक उपकरण बोकेर काम गर्नुका साथै नेटवर्क र्याक तथा अन्य उपकरणको प्राविधिक जाँच र जडान गरिरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बेत्रावती र धुन्चेमा इन्टरनेट सेवा सफलतापूर्वक पुनःस्थापना भइसकेको छ। यसअघि त्रिशूली र धिकुरे क्षेत्रमा पनि सेवा पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको थियो। बाँकी प्रभावित क्षेत्रमा पूर्ण रूपमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर फिल्डमा खटिरहेको कम्पनीले जनाएको छ। बाढी तथा पहिरोका कारण क्षतिग्रस्त पूर्वाधारसम्म पुग्न चुनौती रहे पनि सम्भव भएसम्म छिटो सेवा पुनःस्थापना गर्ने प्रयास भइरहेको कम्पनीको भनाइ छ। यसैबीच, वर्ल्डलिंकले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा आवश्यक परे निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीले यस्ता स्थानमा निःशुल्क वाइफाइ जडान गरी विपद्को समयमा प्रभावित नागरिकलाई सञ्चार सम्पर्कमा रहन सहयोग गर्ने जनाएको छ। आवश्यक पर्ने होल्डिङ सेन्टर वा अस्थायी आश्रयस्थलले वर्ल्डलिंकसँग सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाँकी प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पूर्ण रूपमा पुनःस्थापना गर्ने काम जारी छ। सेवा पुनःस्थापनाको अवस्थाबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

















