बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ । उक्त सहयोग नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंक (बीवाईडी)का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डीजीपालका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् । उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गरिन् । “संकट र विपद्का समयमा नाइमा सधैँ सरकार तथा प्रभावित समुदायसँगै उभिने छौँ । यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौँ भन्ने ऐक्यबद्धताको सन्देश पनि हो ।

















