सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नू – नेता पुन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सधैँका लागि सत्तामा आएको भ्रममा नपर्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले सरकार जनअधिकारको संरक्षणमा चुक्दै गएको भन्दै समय सीमिततालाई ख्याल गर्दै जनअपेक्षाअनुसार काम गर्न सुझाएका हुन् । नो लाइन ओन्ली अनलाइनको नारा दिएर सरकारमा आएको रास्वपाले जनतालाई पानीमा रुझ्दै ग्यासको लाइनमा बस्न बाध्य बनाएको पुनले बताए । लोकतन्त्र भनेको नागरिकको जीवनको सुरक्षा, प्रश्न गर्ने ग्यारेन्टी, जनअधिकारको संरक्षण, कानुनको शासन र सरकारको जबाफदेहिता हो, पुनले भने, “करिब दुई तिहाइको वर्तमान सरकार यी विषयमा क्रमशः चुक्दै गएको छ । धान रोप्ने समयमा किसानले मल पाएनन्, अहिले खाना पकाउने ग्यासको चरम अभाव छ ।” अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक रहेको भन्दै पुनले सोधे, “धितोपत्र बजारले दुईतिहाइको सरकारलाई किन पत्याएको छैन रु निजी क्षेत्रको मनोबल थप गिर्दै गएको छ ।
सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्रमाथि उठाउन असम्भव छ ।” उनले सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघेको आरोप लगाए । “सप्तरीमा पैसा नभएको भन्दै संघीय सरकार मातहतको अस्पतालले प्रसव वेदनामा रहेकी महिलाको उपचार नगर्दा सडकपेटीमै शिशु जन्मिएको घटनाले सरकारको नियत र क्षमता छर्लंग पारेको छ । “म सत्तापक्षका साथीहरूलाई सोध्न चाहन्छु यदि तपाईंहरु अहिले प्रतिपक्षमा र अरू सत्तापक्षमा भएको भए तपाईँहरूले यो घटनालाई कुन रूपमा व्याख्या गर्नुहुन्थ्यो होला ?” उनले प्रधानमन्त्री साहलाई सच्चिन आग्रह गरे । “डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुस् । लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहन्छ । सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस्,” उनले भने, “अरूका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।”

















