तीन कारणले पार्टीको महाधिवेशन सर्दैन : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन कारणले पार्टीको १५ औँ महाधिवेशन नसर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले मुलुकको संविधान, सर्वोच्च अदालतको फैसला र पार्टीको विधानका कारणले महाधिवेशन समयमै सम्पन्न हुने थापाले बताए । महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे।
सभापति थापाले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गरे। अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने उनले प्रतिबद्धता पनि जनाए। पार्टीभित्रका विकृति र विसंगतीविरूद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने अडान दोहोर्याए। आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोषसमेत उनले गरे।

















