एसीसी प्रिमियर कपमा उपाधिका निम्ति नेपाल र यूएई आमने–सामने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ मा सुरु हुनेछ । नेपाल दोस्रो तथा यूएई लगातार तेस्रोपटक फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । नेपाल सन् २०२३ र यूएई गत संस्करणको च्याम्पियन हुन् । यो खेलको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ । त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । प्रतियोगितामा अपराजित रहने यूएई एक्लो टोली हो । यूएईले समूह चरणमा ओमन, कतार, कुवेत र सिंगापुर तथा सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपालले भने एक खेल गुमाएको छ । समूह चरणमा बहराइन, मलेसिया र हङकङविरुद्ध जित निकालेको नेपाल हङकङसँग भने पराजित भएको थियो । यसैगरी, नेपालले सेमिफाइनमा ओमानलाई हराएको थियो । दुवै टोलीको ब्याटिङमा भने केही कमजोरी देखिएको छ । सेमिफाइनलमा नेपाल १४७ रन बनाएर पनि जित निकाल्न सफल भयो । यता, यूएईले ७१ रनको लक्ष्य पूरा गर्न तीन विकेट गुमाएको थियो । पछिल्लो खेलमा दीपेन्द्रसिंह ऐरीले लय समात्नु नेपालका लागि राम्रो संकेत हो । अलराउन्ड प्रदर्शन गरेका उनले तीन विकेट पनि लिएका थिए । जारी खेलमा नेपालका लागि इशान पाण्डेले सर्वाधिक १५२ रन प्रहार गरेका छन् । यसैगरी अर्जुन कुमालले ११० रन बनाएका छन् । यसैगरी, यूएईका लागि अदिब उस्मानीले सर्वाधिक १८२ रन बनाएका छन् । उनलाई तुसार सुरीले १४६ रन बनाएर साथ दिइरहेका छन् । दुवै टोलीको बलियो पक्ष भनेको बलिङ नै हो । नेपालका कप्तान सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् । सर्वाधिक विकेटकर्ताको सूचीमा अगाडि छन् । उनले १६ विकेट लिएका छन् । सन्दीपलाई ललितनारायण राजवंशीले ९ विकेटका साथ साथ दिइरहेका छन् । यता, यूएईका लागि आयन खान र हैदर अलीले १०–१० विकेट लिएका छन् । लामो समयदेखि प्रतिस्पर्धा गरिरहेको हुँदा दुवै टोलीलाई एकअर्काको बलियो र कमजोर पक्षका बारेमा राम्रोसँग थाहा छ । त्यसैले उनीहरू सचेत भएर खेल्नेछन् ।
‘हेड टु हेड’
एसीसी प्रिमियर कपमा यी दुई टोलीबीच दुई खेल भएका छन् । जसमा दुवै टोलीले एक–एक खेल आफ्नो पक्षमा पारेका छन् । सन् २०२३ को फाइनलमा नेपालले यूएईलाई निरास बनाउँदै एसिया कपको टिकट काटेको थियो । २०२४ मा यूएईले बदला लिँदै नेपाललाई सेमिफाइनलमै रोकेको थियो । त्यसैले यी दुई चिरपरिचित प्रतिद्वन्द्वीको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । एकदिवसीय अन्तर्राष्ट्रियको इतिहासलाई हेर्ने हो भने नेपाल केही बलियो स्थितिमा छ । हालसम्म यी दुईबीच १९ खेल हुँदा नेपालले ११ र यूएईले आठ खेलमा जित निकालेको छ । पछिल्ला दुई खेलमा भने नेपालले यूएईलाई पराजित गरेको छ । यी दुवै खेल नेपालको घरेलु मैदानमा भएका थिए । नेपाल यूएईविरुद्ध जितको लक्ष्य कायम राख्ने लक्ष्यमा छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको यूएईसँग खेल्न त्यति सहज भने हुने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *