अर्थमन्त्रीको तीन दिने भारत भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले अर्थमन्त्री स्वर्णिम वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत गरेको छ । विपद्पछिको पुनर्निर्माण लगायत आर्थिक तथा राजनीतिक विषयमा सहकार्यबारे छलफलका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ सदस्यीय प्रतिनिधिमण्डलसहितको भारत भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। भ्रमणका क्रममा उनले बिहीबार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। यस्तै, शुक्रवार भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। शुक्रवार नै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शनिवार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन् । शनिवार दिउँसो नै अर्थमन्त्री डा। वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ । उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *